पञ्चदेवमा जाँदैनन्,प्रधानाध्यापक र नर्स

कालिकोट/जिल्लाको खाँडाचक्र नगरपालिका- १ मा रहेको पञ्चदेव माविमा प्रशासनले अनुगमन गरेको छ।
विद्यालयको गोदाममै थन्किएको स्यानेटरी प्याड मुसाले खाएको र छात्राहरूले प्रयोग गर्न नपाएको समाचार आएपछि प्रशासनले विद्यालयमा रहेको सेनेटरी प्याडको गोदामका साथै सम्पूर्ण पक्षको अनुगमन गरेको हो।
खाँडाचक्र नगरपालिका उपमेयर गणेशबहादुर शाही, प्रमुख जिल्ला अधिकारी रामहरि शर्मा, जिल्ला प्रहरी प्रमुख डिएसपी जयस्वर रिमाल, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख चन्द्रप्रसाद अधिकारी, अनुसन्धान प्रमुख रामअचल शाह लगायतको टिमले विद्यालयमा अनुगमन गर्‍यो।
विद्यालयको हाजिरी हेर्दा गत असार १८ देखि साउन १८ गतेसम्म वर्षे बिदामा विद्यालय बन्द थियो। साउन १९ गतेबाट विद्यालय सञ्चालन भयो। तर विद्यालयका प्रधानाध्यापक सबराज बम विद्यालय व्यवस्थापन समितिसँग बिदा नमागी २४ दिनदेखि अनुपस्थित छन्।
विद्यालय नर्स रचना खत्री २१ दिनदेखि विद्यालयमा गएकी छैनन्। शिक्षा विकास तथा समन्वय इकाई प्रमुख अधिकारीले भने, ‘प्रधानाध्यापक नै विद्यालय नियमित नआउने रहेछन्। विद्यालय व्यवस्थापन समिति र नगरपालिकाले कारबाहीका लागि सिफारिस गरे कारबाही गर्छु।’
प्रमुख जिल्ला अधिकारी शर्माले विद्यालयमा प्रअदेखि शिक्षक तथा विद्यालय नर्सलाई नियमित बनाउन र अन्य व्यवस्थापकीय पक्षलाई सुधार गर्न विद्यालय व्यवस्थापन समितिलाई सुझाव दिएको बताए।
उनले भने, समितिका अध्यक्ष नै नगरपालिकाका उपमेयर हुनुहुन्छ। यो विद्यालय जिल्लाकै नमुना विद्यालय हुनुपर्नेमा धेरै कमजोरीहरू पाइयो। यसलाई सुधार गर्नका लागि आग्रह गरेका छौँ। सुधार हुने अपेक्षा गरेका छौँ।’
विद्यालय गोदाममा अहिले पनि मुसाले खाएको प्याडका पोकाहरू छन्। कार्यालय लथालिङ्ग छ। लाइबेरी प्रयोगविहीन छ।
विद्यालयका शिक्षकहरू भन्छन्, ‘विद्यालय नर्स विद्यालय नियमित आउँदिनन्। प्रधानाध्यापकसँग समन्वय गर्छिन कि गर्दिनन् थाहा भएन्। शुक्रबार विद्यालय आएको बेला पनि हाजिर गरेर घर गइन्।’
विद्यालयमा कार्यरत एक महिला शिक्षकले भनिन्, विद्यालय नर्स आफू नआएको समयमा आफूहरूलाई गोदामको साँचो दिन्थिन्। हामी प्याड छात्राहरूलाई दिन्थ्यौँ। तर समन्वय हुने थिएन।’
शनिबार विद्यालयमा एसइइको ग्रेड वृद्धि परीक्षा चलिरहेको थियो। सान्नीत्रिवेणी गाँउपालिका वडा नं. २ स्थित मष्टामाडु माध्यामिक विद्यालयका छात्रा उमेश सार्की परीक्षा हलमै टाउको र पेट दुखेर बिरामी परे। विद्यालय नर्स त्यहाँ आएकी थिइनन्।
परीक्षा केन्द्रमा अध्यक्ष मिलनकुस्मी चौधरीले भने, ‘विद्यालय नर्स आउनुभएको थिएन। हामीले विद्यार्थीलाई जिल्ला अस्पताल पठायौँ। विद्यार्थीको आधा परीक्षा छुट्यो।’
जिल्ला अस्पताल कालिकोटमा कार्यरत डाक्टर अप्सरा हमालले भनिन्, विद्यार्थी बिरामी भएर जिल्ला अस्पताल ल्याएका थिए। उक्त विद्यार्थीलाई परीक्षाकै तनावले टाउको दुखेको र ग्यास्ट्रिकका कारण ढिलो समय खाना नखाएर बस्दा पेट देखेको थियो। उसलाई सामान्य उपचार र परार्मश दिएर घर पठाइयो। विद्यालयमा नर्स भएको भए त्यही प्राथमिक उपचार गरेर पुनः परीक्षा दिन लगाउने अवस्था पनि रहन्थ्यो।’
यता विद्यालय नर्स खत्री शुक्रबार आफू विद्यालयमा हाजिर भइसकेको बताइन्। उनले शनिबार परीक्षा हलमा विद्यार्थी बिरामी पर्दा आफूलाई जानकारी नभएकाले नगएको बताइन्। उनले अब नियमित विद्यालय जाने बताइन्।
प्रअ र विव्यस अध्यक्षबीच द्वन्द्व
विद्यालयका प्रधानाध्यापक सबराज बम र समितिमा अध्यक्ष हाल खाँडाचक्र नगरपालिका उपमेयर गणेशबहादुर शाहीबीच सुरुदेखि नै द्वन्द्व थियो।
प्रअ राजनीतिक रूपमा नेकपा एमाले समर्थक र व्यवस्थापन समिति अध्यक्ष माओवादी केन्द्रका नेता। विद्यालयको आन्तरिक काममा प्रअ र अध्यक्षको कुरा सधैं बाजिने, कुरा नमिल्ने, भनाभन हुने यस्तै सधैं भइरहन्थ्यो। जसका कारण २०७८ साल मंसिर ८ गते प्रअबाट राजीनामा दिए।
समितिका अध्यक्षले राजीनामा स्वीकृत गरे। तर यसमा विवाद भयो। पछि, स्वीकृत भएको राजीनामा कार्यान्वयन नगर्ने र बमलाई नै निरन्तरता दिने सहमति गरियो।
विद्यालयका प्रअ बमले भने, ‘म अहिले पनि बिरामी छु। बिरामी भएका कारण अन्य कार्यालयका कामले बढीजसो विद्यालय आउन पाउँदिन। म अहिले पनि प्रअबाट हट्न चाहान्छु। तर समिति र अभिभावकले मानेका छैनन्।’
आफू बिरामी भएको र सीटीभीटीको कामले जिल्ला बाहिर रहेको उनले बताए। उनले भने- ‘अहिले आइसकें भोलिदेखि नियमित विद्यालय जान्छु।’
यता विद्यालयका व्यवस्थापन समिति अध्यक्ष शाहीले प्रअबाट हटाउन खोज्दा राजनीतिक विवाद हुने र उहाँ विद्यालय नै नआउने बताए।
‘उहाँ विद्यालयको काम भन्दा व्यक्तिगत काममा लाग्नुहुन्छ। व्यवस्थापन समितिसँग समन्वय नै गर्नुहुँदैन्। यसले विद्यालय सञ्चालन तथा शिक्षण सिकाइ प्रक्रिया प्रभावकारी बनाउन समस्या भएको छ।’
यो जिल्लाकै पुरानो विद्यालय हो। भौतिक संरचना, खुला मैदान, जग्गा लगायतका सम्भावनाका हिसाबले धेरै सम्पन्न छ।
शिक्षक दरबन्दीका साथै अन्य श्रोत साधनका हिसाबले पनि धनी छ।
तर विद्यालयमा हुने राजनीतिले गर्दा यो विद्यालय समस्यामा परेको छ। कमजोर प्रशासनका कारण विद्यालयमा शिक्षक विद्यार्थी नियमित आउँदैनन्।यो समाचार अन्नपूर्ण

तपाईको प्रतिक्रिया