कालीकोट/ शुभकालीका गाउँपालिकाले एक आर्थिक वर्षमै ५२ लाख ५६ हजार ४८९ रुपैयाँ भ्रमण खर्च गरेको पाइएको छ। महालेखा परीक्षकको प्रतिवेदनमा यो खर्च कानुनी व्यवस्था विपरित भएको उल्लेख छ। कर्मचारीका अनुसार व्यक्तिगत कामलाई समेत ‘भ्रमण आदेश’ बनाइ बजेट खर्च गर्ने प्रवृत्तिले खर्च अस्वाभाविक रूपमा बढेको हो।
आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षणमा गाउँपालिकामा तीन करोड ३२ लाख ९६ हजार ७०२ रुपैयाँ नयाँ बेरुजु थपिएको छ। यससँगै हालसम्मको कुल बेरुजु रकम २१ करोड १२ लाख ७० हजार ६९४ रुपैयाँ पुगेको छ। यो वर्ष महालेखाले ९८ करोड रुपैयाँको लेखा परीक्षण गर्दा पाँच करोड ४३ लाख २५ हजार बेरुजु देखिएको थियो, जसमध्ये केही रकम मिलान भएको प्रतिवेदनमा उल्लेख छ।
कर्मचारीहरूले हचुवामा भुक्तानी गर्ने, जनप्रतिनिधिका आफन्तलाई सहयोग छुट्याउनेजस्ता कारणले बेरुजु बढ्दै गएको बताउने गरेका छन्। एक कर्मचारीका अनुसार महालेखाले १३ लाख ३६ हजार २६४ रुपैयाँ असुलउपर गर्नुपर्ने उल्लेख छ।
औषधि उपचार तथा आर्थिक सहायता शीर्षकमा मात्रै २१ लाख ४९ हजार ७२५ रुपैयाँ खर्च भएको छ। यो खर्च कार्यविधि नअपनाई जनप्रतिनिधि तथा कर्मचारीका आफन्तलाई वितरण गरिएको महालेखाको रिपोर्टले जनाउँछ। वडानं ४ का नन्दबहादुर शाहीलाई चार लाख, धनरुप आचार्य र दिपबहादुर शाहीलाई जनही दुई लाख, बसन्ती शाही र सिंहबहादुर शाहीलाई जनही एक लाख ५० हजार भुक्तानी गरिएको छ।
गाउँपालिकाले इन्धनमा २२ लाख १६ हजार ९२१ र गाडी मर्मतमा २८ लाख ८९ हजार ३१३ रुपैयाँ खर्च गरेको छ। आर्थिक सहायता, इन्धन, मर्मत र भ्रमण शीर्षकमा मात्र एक वर्षमा दुई करोड २५ लाख १२ हजार ४४८ रुपैयाँ खर्च भएको देखिन्छ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रप्रसाद चौलागाईंले आफू भर्खरै पालिकामा आएको उल्लेख गर्दै खर्चबारे विस्तृत जानकारी नपाएको बताउनुभयो। गोरखापत्र वाट साभार

दियो खबर । २५ मंसिर २०८२, बिहीबार १९:०९