अपडेट

एमाले भित्रैबाट दबाब : अब नयाँ नेतृत्व

सुर्खेत/ नेकपा एमालेभित्रै नेतृत्व परिवर्तनको दबाब खुला रूपमै बाहिरिएको छ। उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र नेतृ बिन्द्रा पाण्डेले पार्टीमा अब पुस्ता हस्तान्तरण अपरिहार्य भएको भन्दै नयाँ नेतृत्वलाई अघि सार्न स्पष्ट आग्रह गरेका छन्।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा शाक्यले वर्तमान अध्यक्ष केपी शर्मा ओलीले ११ वर्ष नेतृत्व सम्हालेको र अब आराम गर्ने समय आएको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई विकल्पका रूपमा अघि सारिएको बताइन्।

उनले भनिन्, “ओलीजीले दुई कार्यकाल पूरा गरिसक्नुभयो, ७० वर्षे उमेर हद पनि एमाले पार्टीकै सिद्धान्त हो। अब नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्छ भन्ने हाम्रो बुझाइ हो।”

शाक्यका अनुसार विचार, व्यवहार र क्षमता दुवै हिसाबले ईश्वर पोखरेल अब पार्टी नेतृत्वका उचित व्यक्तित्व हुन्। “कम्युनिस्ट विचारअनुसार चल्ने नेतृत्व चाहिएको छ। त्यसैले नयाँ पुस्तालाई बाटो खोल्न आग्रह गरेका हौं,” उनले थपिन्।

यस्तै, नेतृ बिन्द्रा पाण्डेले पनि नेतृत्व अवधि १० वर्षभन्दा बढी नबनाइनु पर्ने सिद्धान्तका प्रस्तावक नै ओली स्वयं रहेको बताउँदै अहिले त्यो सिद्धान्त उल्ट्याउने प्रयास अनुचित भएको टिप्पणी गरिन्।

उनले प्रतिनिधिहरू चयन भइसकेपछि विधान संशोधन गर्न खोजिएको सुन्नमा आएको बताउँदै त्यसले युवालाई रोक्ने वातावरण बन्न नहुने चेतावनी दिइन्।

“७० वर्ष र दुई कार्यकालको सीमा हटाउने प्रयास स्वीकार्य छैन। पार्टी जिम्मेवारीमा युवा नेतृत्वलाई रोक्ने काम कुनै हालतमा हुनुहुँदैन,” पाण्डेले भनिन्।

शाक्य र पाण्डे दुवैको अभिव्यक्ति सँगसँगै आएको संकेत पार्टीभित्र नेतृत्व परिवर्तनको दबाब तीव्र रूपमा बढ्दै गएको संकेतका रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया