टोकियो/नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र अन्य धेरै वामपन्थी घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रवासमा ‘एकता सन्देश सभा’ आयोजना गर्ने भएको छ। पार्टीको प्रवास विभागले यस कार्यक्रमलाई अनलाइन जुममार्फत गर्ने तयारी गरेको हो।
यसअघि नेकपाले धनगढी, लमही, पोखरा, विराटनगर र जनकपुरमा प्रदेशस्तरीय एकता सन्देश सभा सम्पन्न गरिसकेको छ।
आज हुने भर्चुअल कार्यक्रममा पार्टी संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाललगायत शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्।
साबिक एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा प्रवास इञ्चार्ज श्रीप्रसाद शाहका अनुसार नेपाली समय साँझ ६ बजेबाट कार्यक्रम सुरु हुनेछ। विश्वभर रहेका एकतामा आएका सबै संगठनका प्रतिनिधिहरूको सहभागिता हुने अपेक्षा गरिएको छ।
प्रवासमा माओवादी निकट नेपाली जनप्रगतिशील मञ्च र एकीकृत समाजवादीको प्रवासी नेपाली एकता मञ्च मुख्य रूपमा सक्रिय छन्।

दियो खबर । २१ मंसिर २०८२, आईतवार १७:०७