सुर्खेत/ नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट आएका नेता, प्रतिनिधि र शुभेच्छुकको भीडले आज राजधानीको माहोल झनै तातिएको छ। भोलि शनिबार (मंसिर २७) बाट सुरु हुने तीनदिने महाधिवेशन अघि भेटघाट, छलफल, प्रचारप्रसार र तयारी कार्यले राजधानीका विविध स्थानमा चहलपहल बढेको देखिन्छ।
च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय, भक्तपुरको सल्लाघारी उद्घाटनस्थल तथा शीर्ष नेताहरूको निवास परिसरमा आवतजावत बाक्लिएको छ। महाधिवेशनमा नेतृत्व चयन, आन्तरिक बहस र सम्भावित प्रतिस्पर्धाका कारण आकांक्षी नेताहरूको ‘लविङ’ र कार्यकर्ताको दौडधूप तीव्र बनेको हो।
राजनीतिक विश्लेषकका अनुसार पाँच वर्षे नेतृत्व चयन हुने महाधिवेशनअघि यस्तो गतिविधि स्वाभाविक हो। प्रतिनिधिहरू परिचयपत्र लिन, मतदानसम्बन्धी तयारी गर्न र सम्भावित निर्वाचनमा भूमिका कस्तो हुने भन्नेबारे जानकारी लिन सक्रिय देखिन्छन्।
अध्यक्ष केपी शर्मा ओली पक्षले नेतृत्व निरन्तरतामा जोड दिएको छ भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले नेतृत्वमा पुस्तान्तरण हुनुपर्ने माग उठाइरहेको छ, जसका कारण महाधिवेशनमा दुई धारबीचको बहस केन्द्रमा रहेको छ।
एमालेका संगठन विभाग प्रमुख काशीनाथ अधिकारीका अनुसार दुई हजार १५४ प्रतिनिधिले महाधिवेशनमा भाग लिनेछन्। साथै केन्द्रीय सल्लाहकार परिषद्काका ३०९ सदस्य पनि सहभागी हुनेछन्।
भक्तपुरको सल्लाघारीमा मञ्च निर्माण, सुरक्षा, व्यवस्थापनदेखि सांस्कृतिक प्रस्तुति तयारीसम्मका कार्य अन्तिम चरणमा पुगेको उपमहासचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन्। बागमती, मधेश, गण्डकीसहित देशभरबाट उल्लेख्य जनसहभागिता हुने अपेक्षा गरिएको छ।
एमालेले १६ राष्ट्रिय दलका प्रमुख तथा प्रतिनिधिलाई शुभकामना दिन आमन्त्रण गरेको छ। विदेशका नेताहरूलाई भने जेनजी आन्दोलनपछिको परिस्थितिका कारण निम्तो नदिइएको छ।
महाधिवेशन सफल बनाउन स्वयंसेवक परिचालन, यातायात, आवास, खाद्यान्न, प्रचारप्रसारलगायत सबै समिति व्यस्त छन्।
उद्घाटन सत्र अध्यक्ष ओलीले सम्बोधन गर्नेछ। उद्घाटनमा सांस्कृतिक झाँकी, स्थानीय वेषभूषामा सजिएका कलाकार र विविध प्रस्तुति रहने कार्यक्रम रहेको प्रचार विभागले जनाएको छ।

दियो खबर । २६ मंसिर २०८२, शुक्रबार १८:३०