रुकुम पश्चिम / निरन्तरको वर्षापछि आएको पहिरोले मकैसहितको बारी बगाएको छ भने ४ वटा घर पहिरोको उच्च जोखिममा परेका छन् ।
आठबीसकोट नगरपालिका–८, स्यालामा नाउलापानीको मुहान फुटेर स्थानीय खडक बुढा, महेन्द्रकुमार बोहरा र भिमबहादुर बुढा र प्रविर बुढाको मकै बारीमा पूर्ण क्षति भएको छ । स्थानीयका अनुसार खड्क बुढा, महेन्द्र बोहरा, भिमबहादुर बुढा र हरिबहादुर बुढाको घर पहिरोको उच्च जोखिममा छ ।
घर जोखिममा परेपछि महेन्द्रकुमार बोहराको परिवारले घर छाडेर गएको छ । जतिखेर पनि पहिरोले घर भत्काउन सक्ने भएपछि ६ जनाको उनको परिवार अर्को ठाउँमा सरेको हो ।
मंगलबार बिहान ५ बजेतिर उक्त पहिरो गएको हो । बिहान उज्यालो भइसकेको बेला पहिरो गएकाले मानवीय क्षति भने हुन पाएन । अरु घरका मान्छे पनि घर बाहिरै बसेका छन् । जग्गा बग्ने क्रम जारी रहेको छ। पहिरो गएको मुनितिर पनि अरु घरहरु छन् । सडक निर्माण गरिएको तथा सबैतिर डोजर घुमाएका कारण कमजोर बनेको भूगोल बग्न थालेकाले अरु स्थानीय पनि त्रसित बनेको स्थानीयले जानकारी दिएका छन ।
दियो खबर । ११ श्रावण २०७९, बुधबार ११:०६