जनयुद्ध लडेका कालिकोटका ‘सेवक’को उपचार अभावमा सडकमा मृत्यु

कालिकोट/  माओवादी केन्द्र सरकारमै रहेको वेला उपचारको अभावमा पूर्वजनमुक्ति सेनाका एक घाइते कमाण्डरको सडकमा मृत्यु भएको छ । कालिकोटको तिलागुफा गाउँपालिका स्थायी घर भएका नमराज न्यौपाने ‘सेवक’ को काठमाडौंको सडक पेटीमै ज्यान गएको हो । जनयुद्धको क्रममा घाइते सेवकका शरीरमा गोली र छर्रा थिए ।

लामो समयसम्म उपचार नपाएर घाउहरु बल्झिएका थिए । सरकार र माओवादी पार्टीले उपचारमा कुनै वास्ता नगरेपछि सेवक परिवारको पहलमा काठमाडौं आउनुभएको थियो । तर, उपचारमा लाग्ने खर्चको जोहो हुन नसक्दा पेटीमा बसेको बेला सेवकको ज्यान गएको बताइएको छ ।

जनयुद्धको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्र सरकारमै भएको बेला एक घाइते योद्धले उपचार नपाएर ज्यान गुमाउनु परेको छ । उपचार गर्न भनेर कालिकोटबाट काठमाडौं आएपनि न उपचार हुन सक्यो न त राम्रो बस्ने र खाने व्यवस्था नै । नियमित औषधि समेत गर्न नपाएपछि सेवकलाई बिरामले चेप्दै गएको थियो ।

सेवक तत्कालिन जनमुक्ति सेनाको सदस्य हुँदै सेक्सन कमाण्डर समेत हुनु भएको थियो। उहाँले पश्चिम नेपालका धेरै युद्ध लड्नुभएको हो । सोही क्रममा सेवक घाइते हुनु परेको थियो । अनमिनको प्रमाणिकरणको क्रममा अयोग्य भनेर उहाँलाई शिविरबाट बिदाई गरिएको थियो ।

सेवकको मृत्यु सडक पेटीमा भएपछि माओवादी नेताहरुप्रति सामाजिक संजालमा आक्रोस व्यक्त भएका छन् । उहाँ काठमाडौं आएपछि धेरै नेताहरुलाई फोन गरेर आफ्नो अवस्था नाजुक बन्दै गएको भन्दै उपचार गरिदिन आग्रह समेत गरेको बताइन्छ ।

तपाईको प्रतिक्रिया