रुकुमपूर्वमा भूम्या पर्वको रौनक

रुकुमपूर्व /   रुकुमपूर्वमा भूम्या पर्वको रौनक छाएको छ । प्राकृतिक विपत्तिबाट बच्ने विश्वासका साथ प्रकृतिको पूजा गरी मनाइने यो पर्व मगर समुदायको ठूलो पर्व हो ।

भूमेपर्व (बल पूजा)को उपलक्ष्यमा भुमे गाउँपालिकाले जेठ ३१ र आज सार्वजनिक बिदा दिएको छ । यो बिदा स्थानीय तह स्थापना भएदेखि नै गाउँपालिकाले दिँदै आएको छ । असार १ गते भने लुम्बिनी प्रदेश सरकारले नै रुकुमपूर्व र रोल्पामा सार्वजनिक बिदा दिएको छ । आज रुकुमपूर्व र रोल्पामा भूम्या पर्वकै अवसरमा सार्वजनिक बिदा छ ।

रुकुमपूर्वमा मङ्गलबार बिहानै भूम्या पर्व मनाउने युवायुवती सबै फूल टिप्न लेक उक्लिएका थिए भने साँझको समयमा उनीहरु फूल टिपेर लेकबाट ओर्लिएका छन् । पुजारी र दमाहाका साथ फूल लिन जाने चलनलाई ‘मुरुला’ लिन जाने भनिन्छ ।

भूमे पूजाअगावै मारिङ, फूलबारीलगायतका लेकमा फूल टिप्न गएको भूमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले जानकारी दिए । उनका अनुसार मङ्गलबार बिहानै लेकमा भूमि देवतालाई धारधुप गरेर फूल टिप्न आरम्भ गरेसँगै भूम्या सुरु भएको बुभिन्छ ।

भूमे–२ काँक्रीका मदन रोकाका अनुसार अर्नीपानी सगुन बोकेर लेक जानेले ल्याएको रङ्गीविरङ्गी फूल सबैलाई शिरमा लगाइदिएर अग्रजको आशीर्वाद थाप्ने गरिन्छ । फूल लेकाली देवताको सगुनको रूपमा टिप्ने र ग्रहण गर्ने गरिन्छ । पुजारी गाउँलेले खटाएको हुन्छ ।

पुजारीले लेकमा धजा, धारधुप तथा अक्षतासहित भूमि देवतासँग गाउँमा राम्रो होस् भनी बाचा कबुल गरेर लेकबाट नै शिरमा रङ्गीविरङ्गी फूल तथा मगर पोशाकमा लहरै लागेर नाच्दै गाउँ झर्छन् । पुजारीले पशुको बलि दिँदा गाउँमा महिलाले ध्वाँसो, खरानी, दशैँमा ढोकामा राखिएको टीका–जमराजस्ता घर लिपपोत गरेर निस्किएको फोहरलाई घर बाहिर फाल्दछन् । त्यसैलाई नै बल हाल्नेसमेत भन्ने गरिन्छ । बल हाल्दा वर्षभरिको ग्रहदशा र विपत्ति भूम्याले लैजाने जनविश्वास छ ।

पर्वमा पूजासँगै २२ चालमा नाच नाच्ने गरिन्छ । स्थानीय भाषामा यस पर्वलाई ‘नोगोबाङ्गे’ पनि भनिन्छ । आफू बसेको ठाउँको भूमि र भूमि देवताको पूजा गरेर मातृभूमिप्रति श्रद्धा र आदर प्रकट गर्नका लागि यो पर्व मनाइने गरेको स्थानीयवासी शिखर विश्वकर्माले बताए । यो पर्व मनाएपछि दैवी विपत्तिबाट जोगिने जनविश्वास छ । विगतमा मगरले मात्रै मनाउने यो पर्व अहिले अन्य जातिले समेत मनाउन थालेका छन् ।

मगर राज्य रहेको समयमा वर्षभरिको नियम, कानुन बनाउने तथा त्यसका लागि प्रतिनिधि चयन गर्ने दिनका रूपमा समेत यो पर्वलाई लिने गरिन्छ । सोही पर्वमा जनताको सङ्ख्याको लगत राख्नेजस्ता कामसमेत गरिन्थ्यो । मगर बहुल क्षेत्रमा विशेष पर्वका रूपमा मनाइने यस पर्व रुकुमपूर्वको भूमे गाउँपालिकामा मनाइन्छ । पुथाउत्तरगङ्गा र सिस्ने गाउँपालिकाको विभिन्न क्षेत्रमा पनि यो पर्व मनाइने गरेको पाइन्छ ।

 

तपाईको प्रतिक्रिया