सुर्खेत/ नेकपा एकीकृत समाजवादी (एस) ले आफ्नो पार्टीबाट सहभागी भएका मन्त्री फेर्न गरेको प्रस्ताव विवादमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नै त्यसलाई अस्वीकार गरिदिएका छन् ।
बजेटको विषयमा संसद्मा छलफल चल्दै गर्दा सम्बन्धित मन्त्रीलाई परिवर्तन गर्नु उचित नहुने भन्दै नेकपा एसका मन्त्रीहरुले प्रधानमन्त्री देउवासँग आग्रह गरेका थिए । यस्तै उनीहरुले आइतबार नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पनि भेटेर आफ्ना अध्यक्ष माधव नेपाललाई सम्झाइदिन दबाब दिएका थिए ।
त्यसपछि सोमबार बिहान यस विषयमा छलफल गर्न शीर्ष नेताको बैठक बोलाएका थिए । बैठकमा अहिले मन्त्री फेर्दा अन्य दलमा पनि फेरबदलको दबाब बढ्ने र त्यसले सत्ता गठबन्धनको निरन्तरतामै समस्या उत्पन्न हुनसक्ने जोखिमबारे समीक्षा भएको थियो । त्यसको असर बजेट पारित गर्ने कार्यमै पर्न सक्ने देखिएपछि तत्कालका लागि मन्त्रिपरिषद् पुनर्गठन नगर्ने निष्कर्षमा प्रधानमन्त्री पुगेका हुन् ।
बालुवाटार स्रोतका अनुसार आइतबार बिहान प्रधानमन्त्री देउवा र नेकपा एसका अध्यक्ष नेपालबीच कुराकानी भएको थियो । उक्त कुराकानीमा नेपालको आग्रहमा प्रधानमन्त्रीले सकारात्मक संकेत दिएका थिए । त्यसपछि नेपालले पार्टीको सचिवालय बैठकबाट बहालवाला मन्त्री फिर्ता बोलाई नयाँ पठाउने निर्णय गरेका थिए । त्यसका लागि चारजनाको नाम र मन्त्रालय समेत तोकेर प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
पार्टीको निर्णयपछि मन्त्रीहरुले आपत्ति जनाउँदै प्रधानमन्त्रीलाई निर्णय रोक्न दबाब दिएपछि देउवा पछि हटेका हुन् । त्यसपछि सोमबार बिहान प्रधानमन्त्री देउवाले सत्तागठबन्धनको बैठक बोलाए । बैठकमा सत्तागठबन्धन र बजेटमा आउने संकट देखाएर देउवा तत्काल मन्त्री नबदल्ने निर्णयमा पुगेका हुन् ।
नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा स्वास्थ्यमन्त्री विरोध खतिवडाले बजेटको विषयमा छलफल चल्दै गर्दा मन्त्री हेरफेर अन्तराष्ट्रिय प्रचलन समेतको विपरीत हुने बताए ।
कान्तिपुरसँग कुरा गर्दै मन्त्री खतिवडाले भने संसदमा बजेटको विषयमा छलफल भैरहेको समयमा मन्त्री हेरफेर गर्ने विषयमा बजार हल्ला मात्रै भएको उल्लेख गरे । ‘बजेट अधिवेशन चलिरहेको समयमा बजेट प्रस्तुत गरेको मन्त्री परिवर्तन कुरा अन्तर्राष्ट्रिय प्रचलनभन्दा बाहिरको विषय हो । जिम्मेवारी पार्टी र नेताले यस्तो निर्णय गर्दैन’ खतिवडाले भने । खतिवडाले यस विषयमा पार्टी अध्यक्षसँग आफूहरुको कुराकानी नभएको बताए । ‘म पनि स्थायी कमिटीमा छु । रामकुमारीजी पार्टीको सचिव नै हुनुहुन्छ । कहाँ कता के भयो हामीलाई थाहा छैन’ खतिवडाले भने ।
यस्तै पर्यटनमन्त्री प्रेम आलेले पार्टीले गरेको भनिएको निर्णय अहिले कार्यान्वयन नहुने बताए । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले पनि अब पार्टीका मन्त्रीहरुले निरन्तर काम गर्ने बताए ।’हामीले पार्टीको निर्णय नमान्ने होइन तर ८ महिना मन्त्री भएका हामीहरुसँग पनि त छलफल हुनु पर्छ होला नि ! हामीले के काम त्यस्तो गर्यौं र बदल्नुपर्यो?’ उनले भने ।
नेकपा एसको संसदीय दलभित्र हाल मन्त्री रहेका नेता र उनीहरु निकटको बाहुल्यता छ । त्यसैले मन्त्रीबाट हटाएको अवस्थामा पार्टी भित्रको सन्तुलनमै पनि खलबल हुने अवस्था छ । त्यसैले बालुवाटारमा सोमबार मन्त्री फेरबदल गर्ने निर्णय देउवाले कार्यान्वयन गर्न नमानेपछि अध्यक्ष नेपालले केही मन्त्रीहरुलाई बोलाएर छलफल गरेका छन् । छलफलमा अध्यक्ष नेपालले आफूले अन्यथा निर्णय नगरेको भन्दै काममा निरन्तरता दिन आग्रह गरेको एक मन्त्रीले बताए ।यो समाचार कान्तिपुरमा छ।
नेकपा एसका मन्त्री फेर्न प्रधानमन्त्री असहमत,पुरानैले निरन्तरता पाउने
तपाईको प्रतिक्रिया

दियो खबर । २३ जेष्ठ २०७९, सोमबार १६:३२