जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवसका शुभकामना:विशुन्के

काठमाडौ /जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवसका सन्दर्भमा जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवस २०७९ को उपलक्षमा उत्पीडित दलित समुदायका दाजुभाइ तथा दिदीबहिनीहरु सहित सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
आजभन्दा १६ वर्ष अघि अर्थात २०६३ जेष्ठ २१ गतेका मुलुक छुवाछूतमुक्त राष्ट्र घोषणा भयाे ।सो घोषणालाई कार्यान्वयन गर्न जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६८ जेठ १० गते पारित भएलगतै जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवस मनाउँदै आएका छौं ।
त्यसैले आजको दिन हाम्रो मुलुकको सामाजिक रुपान्तरणको आन्दोलनमा महत्वपूर्ण दिनका रुपमा लिनुपर्दछ ।
दलितहरुलाई परिवर्तनको हिस्सेदार बनाउने उद्देश्यले गरिएको सो घोषणाले इतिहासदेखि नै अपमानित जीवन व्यतीत गर्न बाध्य उत्पीडित दलित समुदायको मात्र होइन,सम्पूर्ण नेपालीको शिर उच्च बनाएको थियो ।
नेपालको संविधानको प्रस्तावनामा वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैगिक विभेद,जातीय छुवाछूत र सबैप्रकारका विभेदको अन्त्य गर्ने व्यवस्था गरिएको छ ।
सबै प्रकारका भेदभाव तथा जातीय छुवाछूतजन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा दण्डनीय हुने र पीडितले क्षतिपूर्ति पाउने व्यवस्था छ । मौलिक हकमा सम्मानपूर्वक बाँचन पाउने हक, धारा १८ मा समानताको हक, धारा २४ मा जातीय छुवाछूत र भेदभाव विरुद्धको हक, धारा ४० मा दलितको हकको व्यवस्था गरिएको छ । तर छुवाछूत मुक्त राष्ट्र घोषणा लाई हामीले अपेक्षाकृत रुपमा कार्यान्वयन गर्न सकेका छैनौं ।
नेपालको संविधान, विद्यमान कानून र घोषणालाई चुनौति दिंदै देशका विभिन्न भागमा दलितमाथि हत्या, भेदभाव र बहिष्करणका घटनाले हामी सबैलाई लज्जाबोध गराएको छ ।
आजको दिनले नेपाली समाजलाई सबैप्रकारका भेदभाव तथा जातीय छुवाछूतबाट पूर्ण रुपमा मुक्त दिलाउने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दै जातीय छुवाछूत जस्तो असामाजिक,अमानवीय र घृणित कार्यको अन्त्यका लागि आ–आफ्नो ठाउँबाट ठोस योगदान गर्न सबैलाई अपिल गर्दछु।
पार्वती विशुन्के।
केन्द्रीय सदस्य,नेकपा(एकीकृत समाजवादी)
प्रतिनिधिसभा,सदस्य
२१ जेठ २०७९

तपाईको प्रतिक्रिया