कविता: तिमी आयौ, अरु कोही आएन्

तारा झर्दै गए,रात ढल्दैगयो ,
वादल हट्दै गयो,हुरी चल्दै गयो ।
उन्मुक्त चरीको प्रभाती गुन्जनले,
लतामन्जरीका नूतन आभाहरुले ,
जब जब गगनको रंग बदलियो ,
अनि , तिमी आयौ ।
प्यारो ! धड्कन !! मुटुको ढुकढुकी !!!
गणतन्त्र ! अनि तिमी आयौ ।
तिमीलाई जन्माउन हाम्री आमाले,
हिमशैरको कादम्विनी डढाउनु पर्‍यो,
बुकीको बासनादार डौठो रक्ताम्य पार्न पर्‍यो ,
सुनगाभा र गुराँसको बुट्टेचोली धुजाउनु पर्‍यो ,
फाँटका तोरीहरुको रंगिन फरियामा
रगतका वाछिटाले सिंचित गर्नु पर्‍यो ,
आजाद र इन्कलाभ भित्र पनि ,
धर्ती आकास थर्कमान गर्ने चिसा आर्दनाथसँगै ,
हाम्री आमाले एक युग प्रशव बेदना भोग्नु पर्‍यो ।
प्यारो गणतन्त्र ! अनि तिमी आयौ ।
तिमीसँग स्वतन्त्रता आएन ,
तिमीसँग समानता आएन ,
तिमीसँग परिवर्तन आएन ,
तिमीसँग मुक्ति आएन ,
खासमा
तिमीसँग शान्ति आएन ।
तिमी एक्लै आयौ,अरु कोही आएन ।
एक युगको प्रशव पिडापछि ,
हाम्री आमाले अर्को सिंगो युग जन्माउनु भयो ,
प्यारो प्रजातन्त्र ! त्यो युग तिमी थियौ ।
त्यो सिंगो युग तिमी थियौ ।।
मुक्ति,परिवर्तनहरु,अनि शान्ति,समानताहरु ,
समावेशीता,स्वतन्त्रताहरु कोही थिएनन
र पो,रीपुहरुले ,
तिम्रो घाँटी निमोठ्ने या गर्धन छिनाल्ने ,
जिउँदै जलाउने या छिमेकिलाई वेचिदिने ,
नभएका होईनन षड्यन्त्रहरु ,
नरचिएका होईनन खुनी जालहरु ,
नेपाल आमाका आँसु पनि
वगिरहेथे निरन्तर,निरन्तर ।
प्यारो गणतन्त्र !
उत्साहको विगुल फुक्न भनेर ,
उमंगको हर्षबढाई गर्न भनेर ,
हाम्रो आगन भरी,
गोमनले वेरिएका फूलकका थुंगाहरु बोकेर
विषले बेरिएका मिठा परिकार बोकेर ,
हुँक्के,चम्चेहरु एकाएक आए ,
छेपारा भन्दा माहिरहरु भेष बदलेर आए ,
भेडाका छाला ओढेका कैयन ब्वाँसाहरु आए ,
बाख्राकै सहोदर जस्ता चितुवाहरु आए,
परेवारुपी ह्रींसक वाजहरु आए,
हाम्रो आँगन भरी काले,खैरेहरु आए ,
कैयन अपरिचित पाहुनाहरु आए ।
तिम्रो आगमनको खुसीमा,
हाम्राहरु कोही आएनन,मात्र तिमी आयौ ।
प्यारो गणतन्त्र !
अहिले सम्म पनि
हाम्रा कोही आएनन,कोही आउदैनन ।
मात्र तिमी आयौ । अरु कोही आएनन ।।।
-दुर्गा काफ्ले ” निश्चल ”
महावै गाउँपालिका-२,कालिकोट ।

तपाईको प्रतिक्रिया