मुसीकोटका नगर प्रमुख केसीद्धारा पदभार ग्रहण, तीन निर्णयमा हस्ताक्षर

रुकुम/रुकुम पश्चिमको मुसीकोट नगरपालिकाका नव निर्वाचित नगर प्रमुख महेन्द्र केसीले तीन निर्णयमा हस्ताक्षर गर्दै पदभार ग्रहण गर्नुभएको छ । केसीले यसअघिको सरकारले बन्द गरेका विद्यालय खोल्ने निर्णयमा हस्ताक्षर गर्नुभएको छ । विविध कारणले बन्द गरिएका बिद्यालयले छिट्टै संचालनमा ल्याउने पहिलो निर्णय उहाँले गर्नुभएको हो ।
त्यस्तै जिल्ला बाहिर रिफर गरिएका बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय पनि नगर प्रमुख केसीले गर्नुभएको छ । जिल्ला अस्पतालबाट दाङ, नेपालगञ्ज र सुर्खेत रिफर गरिएका सबै बिरामीलाई निःशुल्क रुपमा एम्बुलेन्स सेवा दिने निर्णय भएको हो । नगरपालिकाले दाहसंस्कारका लागि निःशुल्क दाउराको समेत व्यवस्था गर्ने भएको छ ।
वडा-३ को मुग्लुखोलामा अवस्थित घाटमा दाहसंस्कारका लागि नगरपालिकाले निःशुल्क रुपमा दाउरा उपलब्ध गराउने निर्णयमा पनि नव निर्वाचित नगर प्रमुख केसीले पदभार ग्रहण गरे लगत्तै हस्ताक्षर गर्नुभएको छ । पदभार गरेपश्चात छोटो प्रतिक्रिया दिँदै नगर प्रमुख केसीले नगरवासीका समस्यालाई हल गर्ने गरी आगामी दिनमा निर्णय गर्दै जाने बाताउनुभयो ।

तपाईको प्रतिक्रिया