म्यादी प्रहरी घर फर्किए

सुर्खेत/स्थानीय तह निर्वाचनको शान्ति सुरक्षा व्यवस्थापनका लागि भर्ना गरिएका म्यादी प्रहरी बिदाइ भएका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटले औपचारिक कार्यक्रमको आयोजना गरी ८सय ९५ म्यादी प्रहरीको सामूहिक बिदाइ गरेको हो ।
बिदाइ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले स्थानीय तह निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनुमा म्यादी प्रहरीको सबैभन्दा महत्वपूर्ण योगदान रहेको बताउनुभयो । राज्यले आफूले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेकामा म्यादी प्रहरीलाई धन्यवाद दिँदै उहाँले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका बेलामा पनि भर्ना प्रक्रियामा सहभागी हुन आग्रह गर्नुभयो । साथै उहाँले सुरक्षा निकायले म्यादी प्रहरीको अनुभवलाई उपयोग गर्नेसमेत विश्वास दिलाउनुभयो ।
सबै तहका सुरक्षाकर्मीको प्रभावकारी समन्वय हुँदा जिल्लामा निर्वाचनमा शान्तिपूर्ण रूपले सफल भएको स्थानीयले बताए ।
म्यादी प्रहरी बिदाइ कार्यक्रममा डिएसपी सिद्वराज न्यौपानेले प्रसंशापत्रसमेत प्रदान गरेका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटले म्यादी प्रहरीलाई नेपाल सरकारको सेवा सर्तमा रहि ४० दिन बराबरको सेवा सुविधा उपब्ध गराउने गरी म्यादी भर्ना गरिएको थियो । सेवा सुविधा अन्तर्गत पहिलो किस्ता स्वरुप ४० दिनको रासन भत्ता बराबरको ७ हजार दुई सय,भ्रमण भत्ता एक हजार र पोसाक भत्ता वापतको ६ हजार,म्यादी प्रहरीको तलब ३० हजार २ सय ४ बैंक खाता मार्फत भुक्तानी भइ सकेको छ ।
अन्तीम किस्तामा थप गरिएको रासन भत्ता १२ हजार ६ सय ९७ रुपया बाँकी रहेको रकम अन्तिम किस्तामा बैंक खाता मार्फत भुक्तानी हुने जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी वरिष्ठ नायब निरीक्षक बासुदेव पन्तले जानकारी दिए।

तपाईको प्रतिक्रिया