प्रेमिकाको जवाफी लभलेटर-मान बहादुर बिश्वकर्मा

मान बहादुर बिश्वकर्मा
निष्ठूरी भूपु,
कालिकोट । खाटा बसिसकेको घाउ कोट्याई कोट्याई फेरि ऐया आत्था गर्न चाहन्नथे म । तर त्यो पीडा सहने हिम्मतका साथ आज ती घाउहरु कोट्याउदै छु । तिमीले पत्रमा पश्चातापको भावनाहरु पोखेको रहेछ त्यसकारण पश्चाताप गर्नेलाई माफी दिनु मेरो धर्म हो । मैले बिस्र्याे भन्ने लागेको रहेछ तिमीलाई । पहिलो माया कसैले पनि बिर्सिन सक्दैन निष्ठूरी । तिम्रो लागि म कतिऔ नम्बरमा परेँ हुँला, तै पनि त तिमीले यतिका बर्षपछि पनि सम्झी सम्झी पत्र लेख्यौ । तिमी त मेरो पहिलो प्रेमी, कसरी बिर्सिन सकुँला र ! पहिले जति माया लाग्थ्यो अहिले पनि लाग्छ । फरक यति हो, पहिलेको मायामा चोखो र शुद्धता थियो तर अहिले त्यसमा दया, रिस, आक्रोस र पीडा घोलिएको छ । मैले धोका दिएको भन्ने तिमीलाई लागेको रहेछ । त्यो तिम्रो एकोहोरो सोचाई मात्रै हो । एकपटक हाम्रो अन्तिम कुराकानीहरु सम्झिनु त । तिमीलाई पीडा हुँदा मलाई कति दुख्थ्यो तर तिमीले त्यो बुभ्mने कोसिस समेत गरेनौ । तिमी बिरामी भन्ने सुनेर कति फोन गरेकी थिएँ । तर तिमीले कति दिनसम्म फोन नै उठाएनौ । भोक, प्यास, निद हराएर म पागल बनिसकेको थिएँ । एकदिन अर्कै नम्बरबाट फोन गरेपछि बल्लतल्ल तिमीले फोन उठायौ । फोन त उठायौ तर झर्काेफर्काे गरेर उल्टै मलाई नानाभाँती गाली गर्याै । तिम्रै मायामा पागल बनेर मरिहत्ते गरिरहेको बेला तिम्रो त्यो बचनबाणले मलाई ज्युँदै आगो लगाएसरी भयो । आप्mनै ठानेको मान्छेले लाएको बचन सबैभन्दा पीडादायी हुँदो रहेछ । तिमीले त्यस्तो भन्छ भन्ने त कुनै कल्पना पनि गरेको थिइन मैले । त्यसपछि पनि मैले कतिपटक सम्झाउने कोसिस गरेँ तर अँह ! मेरो केही सिप लागेन । अनि सोचेँ, तिम्रै खुसीका लागि म टाढा भइदिन्छु । रुनु त मेरो पलपलको अभ्यास जस्तै भयो । तिमीसँग टाढिएपछि म क्षतबिक्षत बने । मलाई यतिधेरै पीडा भयो जुन सहन नसकेर हस्पिटलसमेत बस्नुपर्याे । तर तिम्रो लागि म फाटेको जुत्ता रहेछु । अनेकन जुत्तामध्ये म एक थोत्रो जुत्ता । नयाँ हुन्जेल घिसार्नु घिसार्याै र खिइसकेपछि मिल्काई दियौ । मिल्काइएको जुत्तालाई कुकरले झाँडीमा लगेर फालोस् कि कवाडीले मेसिनमा लगेर पेलोस् तिमीलाई मतलब हुने कुरै भएन । तिमी नै टाढिनलाई अनेकन बहानाबाजी गरेपछि मैले बाटो खाली गरि दिएको मात्रै हो । तिमीलाई थाहै छ, म तिम्रो ईच्छा विपरित केही पनि गर्न सक्दिन । र त, तिमीले मेरो यही स्वभावको फाइदा उठायौ नि । तिमीलाई मैले जिन्दगीकै सुन्दर उपहार ठानेको थिए । तिमीबिना बाच्ने कल्पना समेत गर्न सकेको थिइन । तर समय परिस्थितीले मान्छेलाई जिउन सिकाउछ । त्यसैले त म एउटा झाँडीमा थन्किएर पनि अहिले तिम्रो पत्रको जवाफ दिँदैछु । म तिमीलाई कति माया दिन्थे । बिहान उठेदेखि राती ननिदाएसम्म पलपल तिम्रो यादमा तड्पिन्थे । सायद तिमीले मेरो यही तड्पाइ चाल पायौ र त फाइदा उठाएर अलप भयौ । एक गाँस खाँदा तिमीलाई साँचेर राख्न मन लाग्थ्यो । तिमी कतै जाँदा बाटोमा केही होला कि भन्ने कत्रो डर हुन्थ्यो । तिमीलाई रुघा मात्रै लाग्दा पनि मलाई निन्द्रा लाग्दैनथ्यो । चिसो लाग्दा पानी तताईदिन आउन मन लाग्थ्यो । तिमीलाई ज्वरो आँउदा पानीपट्टी गर्न आउन मन लाग्थ्यो । तिमीलाई थाहा छ ? मैले त्यतिबेला तिमीलाई ‘तिमी’ समेत भनिन । ‘तपाई’ र ‘हजुर’ बाट अहिले ‘तिमी’ भन्न तिमीले नै बाध्य बनायौ । कहिलेकाही त ‘त’ भन्न मन लाग्छ तर मेरो आत्माले त्यसो भन्न दिँदैन निष्ठूरी । त्यतिबेला तिमीलाई भेट्न पाउँदा स्वर्गीय आनन्द लाग्थ्यो । तिम्रो छाँया मात्रै देख्न पाए पनि मलाई आनन्द मिल्थ्यो । तिम्रो बाटो कति चिहाउँथे । बाटो हिड्दा तिम्रो जस्तै कपडा, तिम्रो जस्तै हिँडाई, तिम्रो जस्तै स्वर सुन्दा मात्रै पनि एकखाले आनन्द लाग्थ्यो । तिमीसँगै बस्ने, सुख दुःख गर्ने, सँगै हास्ने, सँगै रुने कस्तो सपना थियो । तर मेरो सारा सपनामा तिमीले बज्र हान्यौ र झ¥यामझुरुम बनाईदियौ । तिमीलाई भेट्न नपाउँदा असिनपसिन हुन्थ्यो । एक दिन बोल्न नपाउँदा भोक, प्यास, निन्द्रा लाग्दैनथ्यो । तर के गर्नु तिमीले नै भने जस्तै एकाहोरो त शंख मात्रै बज्दो रहेछ । तिम्रो स्वार्थका अगाडि मेरो केही चलेन । मैले मरिहत्ते गर्नुपर्ने कुरा तिमीसँग के नै थियो र ? न तिमीसँग करोडौको सम्पत्ती थियो, न खाइलाग्दो ज्यान थियो न त हाइलेभलको योग्यता नै थियो । तर पनि मैले किन यतिधेरै माया दिए तिमीलाई ? कहिल्यै सोच्यौ ? मलाई तिम्रो धन, ज्यान र योग्यता होईन मायाको बदलामा माया चाहिएको थियो । हुन त स्वार्थी माया गर्नेहरुलाई सच्चा माया भन्ने नै थाहा हुन्न रहेछ । स्वार्थीहरु मायाको नाटक रच्न बोलीले लठ्ठ पार्छन्, सरसापति गरेर भए पनि केटी पट्याउन महंगा अत्तर छर्किन्छन् । देखाउनकै लागि भए पनि पैचौ लिएर बाइक हुँक्याउछन् । महंगो रेष्टुरेन्टमा लगेर खुवाउछन् । अझ वेटरलाई टिप्स दिन्छन् । तर म यस्तो चाहन्नथे । ‘जे छ त्यही गर तर स्वाङ नगर’ भनेर मैले कतिपटक सम्झाएको थिए कि थिएन ? किनकी मैले तिमीलाई तिम्रो हैसियत हेरेर मन पराएको होईन । मेरो परिवारको हैसियत त तिमीलाई राम्रैसँग थाहा थियो नि होईन र ? तर मैले कहिले पनि तिमीलाई मेरो खानदानीको रवाफ देखाइन । आकाश भनौ कि धर्ती, अभिभावक भनौ कि आदर्श ब्यक्ति सबै तिमी नै ठानेको थिए । तिमीसँग बस्न पाए त्यतिकै अघाउथेँ । मलाई तिमी नै सर्वेसर्वा लाग्थ्यो । तिमीसँग कुरा गर्दा गर्दा कतिपटक म खाना समेत नखाई सुतेको छु । तिमीसँग डेटिङ जाँदा मैले घरमा कति गाली खाएको छु । ममीले थाहा पाएर कतिपटक कुटाई भेटेकी छु । मैले कोही नपाएर यतिधेरै तड्पीतड्पी तिमीलाई पछ्याएको होईन । तिमीभन्दा राम्राहरु कति आएका थिए माग्न तर मैले कसैलाई भाउ दिइन । तिमीलाई श्रीमान नै ठानेर भगवानसँग तिम्रो सफलताको कामना गर्थे । आफूलाई बिबाहित जस्तै ठान्थे । म जे गर्थे तिमीलाई नै सम्झेर गर्थे । तिम्रो औकात के छ, मलाई राम्रैसँग थाहा थियो । त्यसैले तिमीले महंगा रेष्टुरेन्टमा लान खोज्दा म सडकमै चटपटे खाई दिन्थे । तिमीले महंगा गिफ्ट दिन खोज्दा मैले सस्तो गिफ्ट छानेर मन पर्याे भन्दिन्थे । तिमीले महंगा गिफ्ट दिन खोज्दा मैले सस्तो गिफ्ट छानेर  मन पर्याे भन्दिन्थे । मलाई महंगा गिफ्ट चाहिएको थिएन केवल तिम्रो माया चाहिएको थियो । तिम्रो भलो नै मेरो भलो ठान्थे, तिम्रो सफलता नै मेरो सफलता ठान्थे । एकपटक सोचेर हेर्नु त, मैले तिम्रो पाइला पाइलामा साथ दिएको थिएँ कि थिएन ? त्यतिबेला तिमीले मेरो माया बुझ्ने कोसिस मात्रै गरेको भए पनि अहिले हाम्रो संसार सुन्दर बनिसक्थ्यो । तर त्यतिबेला तिमीलाई एकपछि अर्काे चहार्नुपर्ने बानी थियो । अहिले पछुताएर केही हुँदैन । थाहा छ निष्ठूरी । पछुतोको न औषधि हुन्छ न त क्षतिपुर्ती नै । माफी त भावनात्मक कुरा न हो । माफी दिएर बिग्रीसकेको कुरा फर्किदैन । एकपटक सोच्नु त तिमीलाई मैले के चाँही नराम्रो गरेँ ? तिम्रो चाहनालाई समेत नाइनास्ती गरिन मैले । मन मात्रै होईन ज्यान समेत सुम्पि दिएँ । के मैले तिमीसँग ठगेँ ? तिमीलाई कुनै बचन लाएँ ? तिम्रो केही कुरा बिगाँरे ? तिम्रो इज्जत मान प्रतिष्ठामा दाग लगाएँ ? मन मिलाउने बहानामा तिमीले कति पटक तन मिलायौ, याद छ ? ‘जतिधेरै तन मिलायो त्यतिधेरै धेरै मन मिल्छ रे’ भनेर मलाई कति जवरजस्ती गर्याै ? मन मिलाउने बहानामा मनको तृष्णा मेट्ने तिम्रो चाला रहेछ । तर तिम्रो हरेक कुराको बिश्वास गर्दा मैले सबै गुमाँए तर तिमीले मबाट फाइदा उठाएपछि अनेकन बहानाबाजी गर्याै र टाढियौ । म तिम्रो फेस पढेर तिम्रो हरेक समस्या थाहा पाउथेँ तर तिमीले आप्mनो समस्या लुकाउन खोज्थ्यौ । हुन त तिमीले बिस्र्याे होला । एकपटक तिमीलाई कस्तो आपत परेको थियो । तिम्रो समस्या समाधान गर्न मैले परिवारलाई ढाँटेर पैसा ल्याई तिमीलाई दिएकी थिएँ । तिम्रोलागि म संसार त्यागि दिन सक्थे त्यसैले यो त मेरो लागि केही पनि होईन । तर निष्ठूरी, तिमीले यति सजिलै मलाई त्याग्यौ तर मैले घरमा गाली खाई खाई ल्याएर दिएको पैसा फिर्ता गर्नु पर्दैन ? मलाई माया त दिएनौ दिएनौ तर आफ्नो नैतिकता समेत गिरायौ । कतै मेरो पैसा फिर्ता दिनुपर्ला भनेर मलाई नै बेवास्ता गरेको त होईन ? तर तिमीले दिए पनि म लिन्न थिएँ । किनकी मायाका अगाडि ज्यान र धन केही पनि होईन निस्ठूरी । तिम्रो एक एक शब्दको अझै याद छ । म कसैले फकाएर फकिने मान्छे होईन तर तिमी असाध्यै मन परेर पछि लागेको थिए । मैले मन पराएँ र तिमीलाई ज्यान सुम्पे त्यो मेरो ठूलो भूल भयो । तर निष्ठुरी ! तिम्रो हर्कतले मैले एउटा राम्रो कुरा सिक्न पाएँ । आफूले मन पराएकालाई ज्यान दिनुभन्दा आफूलाई मन पराउनेलाई ध्यान दिनुपर्ने रहेछ । माया गर्नेले सच्चा माया देखाउन सक्नुपथ्र्याे तर तिमीले देखावती माया पो देखाएका रहेछौ । तिमीले आफूले आफैलाई चिन्न सकेनौ । तर पनि यतिका बर्षपछि मलाई सम्झियौ अचम्म लाग्दैछ । बरु भांचिएको हातखुट्टा जोड्न सजिलो होला तर भाँचिएको मन जोड्न त्यति सजिलो कहाँ छ र ! मेरो माया तिम्रो जस्तो स्वार्थले सजिएको होईन त्यसैले माया अझै छ त्यसमा पीडा मिसिएको मात्र हो । त्यो पनि तिम्रै कारणले । तिमीले त सुरुमा तारा झार्ने लोभ देखायौ पछि बंगारा झार्ने भनेर थर्कायौ तर मेरो माया त्यस्तो होइन निष्ठूरी । तिमीप्रति गुनासो गर्नु पनि बेकार लाग्छ अचेल । तिमी जस्तो धोकेबाजलाई रोज्नु मेरै भूल थियो । तिमीसँग जुनी बिताउने सपना उहिले तुहिएको हो त्यसैले अब त्यो सपना देख्नु बेकार छ । तर तिमीप्रति मेरो कहिल्यै घृणा हुनेछैन किनकी मैले कहिले पनि तिमीलाई मेरो मन मुटुबाट निकाल्न  सकिन र सक्दिन पनि । समयले साथ दिए भने तिमीले भने जस्तै म पनि सरप्राइज दिन आउने छु जुन दिन तिम्रो आँखाबाट लाज र निरिहताको आँसु झर्नेछ । तर एउटा कुरा ख्याल गर्नु । तिमीले मलाई जस्तोसुकै पीडा दिए पनि मैले आफ्नै पुर्पुरोलाई दोष दिएर सकी नसकी सहेँ । तर मलाई जस्तो पीडा कहिल्यै कसैलाई नदिनु । सच्चा माया गर्नेको आँखाबाट झरेको आँसुले एकदिन अवष्यै पोल्ने छ । त्यसरी पोलेको घाउ जिन्दगीभर निको हुँदैन निस्ठूरी । रोमान्सको मायाजाल बुन्नेसँग मात्रै मायाको नाटक खेल्नु । सच्चा माया गर्नेसँग कहिल्यै मायाको रत्यौली नखेल्नु, निस्ठूरी । सच्चा मायामा खेलवाद गर्याै भने पछुताएर पानीबाट निकालेको माछा झै छटपटाउनु पर्ला ।मान बहादुर बिश्वकर्मा
सान्नि त्रिवेणी गाउँपालिका,३ कालिकोट

 

तपाईको प्रतिक्रिया