रुकुम/रुकुम पूर्व र रुकुम पूर्वमा जनप्रतिनिधिसहित माओवादी केन्द्रका तिन नेता कार्यकर्ता पक्राउ परेका छन ।
जिल्लाको पुथाउत्तरगंगा गाउँपालिकामा एक महिलालाई अपहरण गरी हत्या गरेको अभियोगमा उनिहरु पक्राउ परेका छन्।
पुथाउत्तरगंगा गाउँपालिकाको वडा नम्बर ११ का वडाध्यक्ष जयकुमार बुढा,उनका भाइ अर्जुन बुढा र माओवादीबाट वडाध्यक्ष उम्मेदवार कुमार सिंह बुढालाई रुकुम पूर्वको प्रहरीले नियन्त्रणमा लिएको हो।
वैशाख १९ गते स्थानीय तक्सेरा गाउँमा निर्वाचन प्रचार प्रसारका क्रममा भएको विवाद मिलाउन पुगेकी स्थानीय ३९ वर्षकी डुथी बुढा भन्ने जुङमाया बुढालाई माओवादी कार्यकर्ताहरुले अपहरण गरेर लगेको आरोप छ।
अपहरणमा परेकी बुढालाई खोज्ने क्रममा रुकुम प्रहरीले तक्सेरादेखि करिब चार किलोमिटर माथि जंगलमा उनको शव फेला पारेको हो। महिलाको कानमा रगत बगेको र निर्वस्त्र अवस्थामा शव फेला पारिएको रुकुम प्रहरीले जनाएको छ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन भएको पुथा उत्तरगंगामा माओवादी केन्द्रसँग पटक पटक विवाद र दुई समूहबीच झडपसमेत हुँदै आएको छ।
मृतक जुङमाया बुढाको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पोष्टमार्टमका लागि ल्याइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेकपा माओवादी केन्द्र रुकुम पूर्वले भने उक्त आरोप नितान्त झुटो रहेको बताएको छ। जिल्ला इन्चार्ज तेजबहादुर ओलीले एक विज्ञप्ती जारी गर्दै स्थानीय चुनावलाई प्रभाव पार्ने र आफ्नो पार्टीलाई बदनाम गर्ने उद्देश्यले आफ्ना नेता कार्यकर्ता माथी झुटो आरोप लगाएको बताउनुभएको छ । निर्वाचित जनप्रतिनिधि र उम्मेदवारलाई समेत गिरफ्तार गर्न लगाई चुनावी परिमाण आफ्नो पक्षमा पार्ने रणनीति अनुसार एमालेले रचिएको यो षड्यन्त्रको कडा प्रतिवाद र भत्र्शना गर्दछौं विज्ञप्तीमा उल्लेख गरिएको छ ।
महिलाको हत्या गरेको आरोपमा जनप्रतिनिधिसहित तिन माओवादी नेता पक्राउ
तपाईको प्रतिक्रिया

दियो खबर । २८ बैशाख २०७९, बुधबार ११:२५