अपडेट

कालिकोटको तिलागुफामा कांग्रेसको एकल उम्मेद्वारी दर्ता

कालिकोट/जिल्लाको तिलागुफा नगरपालिकामा नेपाली कांग्रेसले एकल उम्मेद्वारी दर्ता गरेको छ । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि शंकरप्रसाद उपाध्याय मेयरमा र वसन्ती सिंह शाही उप मेयरमा आईतबार उम्मेद्वारी दर्ता गरेका हुन् ।
नेपाली कांग्रेसका जिल्ला सदस्य सत्यबहादुर शाहीले तिलागुफामा नेपाली कांग्रेस नगर कार्यसमितिले सिंगल निर्बाचन लड्ने गरेको निर्णयअनुसार आज मनोनयन दर्ता गरिएको जानकारी दिए । उनका अनुसार तिलागुफामा कांग्रेसले ११ वटै वडामा उम्मेद्वारी दर्ता गर्ने तयारी गरेको छ ।
तिलागुफा नगरपालिका प्रमुखका उम्मेद्वार उपाध्यायले आफूले कुनै पनि हालतमा उम्मेद्वारी फिर्ता नलिने बताए । उनले भने,’तिलागुफामा मेरो जित निश्चित छ । सत्ता गठबन्धनका दलहरुले गठबन्धनको नाममा आसेपासेलाई सुरक्षित गर्न विवाद मच्चाईरहेका छन् । म सबैलाई चुनौती दिन चाहान्छु । सबै दल सिंगल लढौं । जसले जित्छ बिजयको माला लगाउला ।’
गत २०७४ को स्थानिय तहको निर्वाचनमा ५३ मतले पराजित उम्मेद्वार समेत रहेका उपाध्यायले भने,’जनअदालतबाट ०७४ सालमा अनुमोदित हुन पाईन । योपटक जनअदालतबाट न्याय पाउने थिए । जनताले न्याय गर्ने थिए । अहिले जनताले न्याय गर्ने देखेपछि पार्टीका नेताहरुले गठबन्धनको  नाममा अन्याय गर्न लागे । म ब्याक हुदिन । जनताले गरेकाे फैसला सहर्ष स्वीकार गर्छु ।’
नेपाली कांग्रेस तिलागुफा नगर सभापति धिरेन्द्र थापाले पाटीले आफूहरुको भावनविपरित गठबन्धन गरी तिलागुफा नगरपालिका प्रमुखमा निर्वाचन लड्न नदिए उपप्रमुखसहित ११ वटै वडामा कुनै पनि पदमा उम्मेद्वारी नदिने बताए ।
उनले भने,’हामीले नगर कार्यसमितिबाट यही बैशाख ३० गतेकाे स्थानिय निर्बाचनमा सिंगल लड्ने निर्णय गरी प्रदेश र जिल्लामा पठाएका छौं । जिल्लाबाट आज पार्टीको टिकट नै ल्याएर उम्मेद्वारी पनि दर्ता भइसकेको छ । गठबन्धनका नाममा हामीलाई कसैले निर्बाचन लड्नबाट रोक्छ भने कुनै पनि पदमा तिलागुफाबाट कांग्रेसको नाममा उम्मेद्वार बन्न तयार छैन ।”

तपाईको प्रतिक्रिया