कविता-भुमरी बनेर आएँ

दुर्गाप्रसाद काफ्ले/ तिमीलाई स्पर्श गर्न लालायित म
अंग-अंग छुने अहम चाहानाले
एक झोक्का बतास वनेर आएँ,
सतीसालका हाँगाहरु लुछ्दै,
पैंयुका फूलहरु असरल्ल झार्दै,
आँधी बोकेर,चट्याङ बोकेर ,
धाईडा र नर्कटहरु सोतर पार्दै ,
तिम्रो छाती छेडुँला झैं गरि आएँ म ।
प्रीया!
झ्यालका खिड्की हल्लिए,
दलिनका खाँवा हल्लिए,
आँगन अनि मझेरीका शान्त चिजबिज
आखिर सवै सवै हल्लिए ।
एक झोक्का भुमरी बनेर
पातपतिङ्गरहरु कोषौं माथी उडाएँ,
आफुले उडाउन सक्ने जति कोषौं टाढा पुर्‍याएँ ,
र,तिम्रा मृगनयना परेली सम्म
नागासाकी झैं तुवाँलो ठोकाएँ ।
मेरा यादहरु तिमी समक्ष पुर्‍याउनु थियो ,
चाहानाका रंगहरु तिम्रो काखमा भर्नु थियो ।
अनि,
तिम्रा कोमल अंग प्रत्यङ्ग स्पर्श गर्नु थियो,
पहरामा लहराझैं बेरिईनु थियो
र त प्रीया !
म आँधी बनेर आएँ,हुरी बनेर आएँ ।
तिम्रो न्यानो वक्षस्थलमा चिसो स्पर्श गर्न
बेजोड कै भुमरी बनेर आएँ ।
बेजोड कै भुमरी बनेर आएँ ।।

तपाईको प्रतिक्रिया