गजल-अतीत शर्मा

देखाउँदै र लेखाउँदै क ख रा सिकाउनु पर्छ,
सानै देखि राम्रो बानी ब्यहोरा सिकाउनु पर्छ।

कर्णाली लामो नदि हो,सगरमाथा हिमाल हो,
नेपालकै ठूलो ताल भन्दै रारा सिकाउनु पर्छ।

कन्चनजङ्घा,अन्नपुर्ण, धवलागिरीको दृश्य,
फेवामा देखिन्छ भनी पोखरा सिकाउनु पर्छ।

हामिले अझै संरक्षण गर्नु पर्छ है बाबू भनेर,
धारा,पाटिपौवा,मठ र चौतारा सिकाउनु पर्छ।

पानी जीवन हो। यसका थुप्रै स्रोत छ्न भन्दै,
वर्षा, नदी, झर्ना,तथा छहरा सिकाउनु पर्छ।

हिमाल अग्लो देखिन्छ तराईमा समथल हुन्छ,
पहाडका डाँडा पाखा र पहरा सिकाउनु पर्छ।

जिवजन्तु,कोहि हिड्ने,घस्रने,उप्फ्रने हुन्छन,
उड्ने जीव पंक्षी हो भनी चरा सिकाउनु पर्छ।

पृथ्वी गोलो छ घाम तातो छ अनि प्रकाशले,
उज्यालो दिन्छ भन्दै जुनतारा सिकाउनु पर्छ।

बारुलो,अरिङ्गाल टोक्छ्न मौरी मह बनाउँछ,
फुलको रस चुस्छ भनी भमरा सिकाउनु पर्छ।
– अतीत शर्मा

तपाईको प्रतिक्रिया