दर्जन जिल्लाका निर्वाचित नेतृत्वलाई हटाएर एकता टुंग्याउन खोजेको आरोप-नेता पराजुली

दियो खबर संवाददाता काठमाडौ सत्तारूढ  दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियू तत्कालीन निर्वाचित नेतृत्वलाई पाखा लगाएर जिल्ला कमिटीको एकता प्रक्रिया टुंग्याउन खोजेको भन्दै असन्तुष्टि चुलिएको छ ।
वरिष्ठ नेता माधवुकमार नेपाल समूह निकट तत्कालीन अनेरास्ववियूका सचिवहरु सुदेश पराजुली, आरती लामा र ओसिम आलमले आफ्नो समूह निकट जिल्ला नेतृत्वलाई हटाइएको विवाद समाधान नगरी एकता प्रक्रिया टुंग्याउन खोजेको भन्दै असन्तुष्टि राखेका हुन् ।
संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले असोज मसान्तभित्र जिल्ला, क्याम्पस र मातहत कमिटीको एकता प्रक्रियालाई पूर्णता दिन १५ असोजमा जारी गरेको सर्कूलरप्रति असन्तुष्टि राख्दै उनीहरुले ‘नोट अफ डिसेन्ट’ राख्ने तयारी गरेका छन् । आजै उनीहरुले नेकपाले तोकेको विद्यार्थी फाँट ईन्चार्ज हितमान शाक्य र सहईन्चार्ज विनोद ढकाललाई भेटेर नोट अफ डिसेन्ट राख्ने तयारी गरेका हुन् । तत्कालीन अनेरास्ववियुका सचिव पराजुलीले बारा, दाङ, महोत्तरी, गोर्खा, मनाङ, दार्चुला, कैलाली, हुम्ला, जुम्लालगायतका जिल्लाहरुमा निर्वाचित नेतृत्वलाई हटाएर संयोजक महरले एकलौटी जिल्ला संयोजक र सहसंयोजक तोकेको र अहिले उनीहरुकै नेतृत्वलाई वैधानिकता दिनेगरी एकता प्रक्रिया टुंग्याउन सर्कूलर जारी गरेकाले विद्यार्थी फाँट ईन्चार्ज र सहईन्चार्जमार्फत नोट अफ डिसेन्ट राख्न लागिएको जानकारी दिए ।
‘पार्टीको तत्कालीन फ्याक्सन कमिटीले ती जिल्लाहरुमा निर्वाचित कमिटीबाटै वरिष्ठतालाई आधार मानेर जिल्ला संयोजक र सहसंयोजक तोक्ने मापदण्ड बनाएको थियो तर त्यो मापदण्डअनुसार टुंग्याउँदा महरजीले हाम्रो समूहसँग नजिक रहनु भएका साथीहरु नेतृत्वमा आउने देखेपछि मनोमानी तरिकाले कमिटीमै नभएका बाहिरका विद्यार्थीहरुलाई संयोजक र सहसंयोजक तोक्ने काम गर्नुभो’, असन्टुष्ट समूहका नेता पराजुलीले भने,‘तत्कालीन एमाले समूहभित्रकै विवाद समाधान गर्नुको सट्टा त्यही मनोमानी निर्णयलाई सदर हुनेगरी सर्कूलर जारी गरिएकाले विधिविपरितको एकमनावादी निरंकुश शैलीविरुद्ध हामीले नोट अफ डिसेन्ट लेख्न लागेका हौं ।’
उनले दुई समूह(तत्कालीन एमाले र माओवादी)निकट अखिलको पुरानो कमिटीबीच एकता भएका कारण निर्वाचित कमिटीका पदाधिकारी र सिनियरहरुलाई बाहिर राखेर गरिने जिल्ला कमिटीको एकतालाई पूर्णता दिने तयारी मान्य नहुने पनि बताए । ‘निर्वाचित सिनियरहरुलाई पाखा राखेर गरिने एकता प्रक्रियालाई विधि र न्यायप्रेमी एक जना विद्यार्थी नेता–कार्यकर्ताले पनि स्वीकार गर्न सक्दैन ।’ पराजुलीले भने ।
महर र तामाङले गत १५ असोजमा एकता प्रक्रिया टुंग्याउन सर्कूलर जारी गरेका थिए । सर्कूलरमा जिल्ला, क्याम्पस, निर्वाचन क्षेत्र, स्कूल कमिटी र स्थानीय कमिटीको एकता प्रक्रिया टुंग्याउने विषयमा बुँदागत मादपदण्डहरु तोकिएका छन्।

तपाईको प्रतिक्रिया