दिक्कलाग्दो नेपालको राजनीति


भावना शर्मा/
स्वर्गको एउटा छुट्टै टुक्रा मानिने मेरो देशलाइ प्रकृतिले दिने सुन्दरसुन्दर उपहारमा कुनै कन्जुस्याइँ गरेको छैन।हिमाल,पहाड र तराइ जस्ता भुभागमा मज्जाले बनेको बनावट छ ।गौतम बुद्ध जन्मेको देशमा आफ्नो जन्म हुदा नेपाली नागरिकको छाती गर्वले फुल्छ तर यो सुन्दर देशको बिग्रेको राजनिती देख्दादेख्दा भने नेपाली जनता वाक्क भैसकेका छन ।नेपालको राजनिती कहिल्यै पनि सहि ट्रयाकमा आएन सधै झै राजनितिक अस्थिरता,किचलो मात्रै भयो देशले स्थिर राजनिति र विकास पाउदै पाएन ।

विश्वको सबै भन्दा धेरै राजनितिक उतारचढाव सायद नेपालमै भयो होला र हुन्छ पनि तरपनि राजनिति सहि दिशामा कहिल्यै अघि बढेन । यहाँ त सधैजसो राजनितिक खिचातानी भयो जनतालाई छलकपड गरियो र जनतालाई उल्लु बनाउने काम मात्रै गरिएको छ । राष्ट्रिय हितहुने खालका मुद्दामाथि नेपालका राजनिति दल कहिल्यै पनि सहमतिमा आएनन् बरु उल्टै नाता र कृपावादमा हावी भए कसरी सत्तामा पुगेपछी आफ्ना कार्यकर्तालाई अडिक बनाउन सकिन्छ भन्ने स्वार्थमा चुर्लुम्मै डुबे कसरी आफन्तलाई सेटिङ्ग गर्न सकिन्छ भन्ने विचारधाराहरुको पिछा गरे यति मात्रै होइन नेपालमा प्रत्येक राजनितीक दलले आफ्नो पार्टी वाहेर फरक दलले चाहे राम्रो गरोस् वा नराम्रो गरोस खाली एक अर्कामा विरोध गर्ने र उचाल्ने अनि बजार्ने सस्कारको वृद्धि गरे यहि प्रचलनको कारण जनता यस्तो खालको राजनितीबाट वाक्क भएर विकल्प खोजिरहेका छन ।
अति संवेदनशिल निकायमा पनि राजनितिक भर्ति,राजनितिक सिफारीस,राजनितिक चलखेलको चलन रहेको छ।

राजा सहितको एकसय चार वर्षको राणाकाल देखि हालको राजा विहिन संघीय लोकतान्त्रीक गणतन्त्र सम्म आईपुग्दा नेपालमा जनताको पक्षमा शासन गर्ने दल कहिल्यै पनि देखिएन ।अहिलेसम्मका दलहरुले भोट लिने बेलामा विभिन्न महत्वाकाक्षी आस्वासन दिएर जनताको भोट लिने र सत्तामा पुगेपछि आफु र आफ्नाहरुलाई कुस्त कमाउने मौका दिने र आफुहरु मोजमस्तीमा लाग्ने बाहेक जनताको लागि भनेर केहि गरेको देखिदैन ।

चुनावका बेला घरघरमा रोजगारी,सबै खाले विभेद,अन्याय र अत्याचारको अन्त्य गर्ने जस्ता विभिन्न दलहरुको आश्वासनहरु अहिले जग हसाउने बाटो बनेको छ अर्थात चुट्किलामा रुपान्तरण भएकाछन । जनता महंगी,भ्रष्टाचार,गरिबी रअसहज परिस्थितिको मारले आक्रान्त भएका छन ।भ्रष्टाचारिहरु सरकारकै छत्रछाँयामा लुटपुटिरहेका छन तर परिवर्तन र न्यायका लागि लड्नेहरु राज्यबाट पाखा लागिरहेका छन् ।फरक राजनीतिक आस्था राखेकै आधारमा धरपकड गर्ने ,पक्राउ गर्ने ,कुटपिट गर्ने पंचायतकालिन गतिविधिको पुनरावृत्ति गरिएको छ । दिनहुँ जसो जसो बलात्कारीले सरकारको आगनमै टेकेको टेकै गर्दा समेत राजनितीक दलहरु बेखबर छन,बरु आफ्नो कमजोरी ढाकछोप गर्न न्यायको भिख मागिरहेका निहत्था जनताको रगतमा पौडी खेल्नमा मस्त छन् । भएभरका युवा विदेश लखटेर राष्ट्रिय उत्पादन बिनाको आर्थिक समृद्दीको सपनामा मस्त सङ्ग निदाएका हाम्रा राजनितिक दलहरुलाइ प्रत्येक दिन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आउने लासले कुनै असर परेको छैन ।

समृद्द नेता र सुखी नेता बन्ने आधारशिला पकडेका हाम्रा नेताहरुलाइ जनताको जीवनस्तर झन् झनै दयनिय र कष्टकर बन्दै गएकोमा कुनै प्रवाह छैन ।राजनीतिलाई घोषित रुपमै आर्थिक पेशामा रुपान्तरण गरिएको छ त्यहिभर नेपालमा राजनीतिले कहिले पनि आफुलाइ लाई सहि दिशा प्रदान गर्न सकेन यहि स्थिति हो भने अझै केही वर्ष सक्दैन भन्नेमा नेपाली जनता विस्वस्थ छन ।

माथिका सबै दृष्टान्तहरुलाई हेर्ने हो भने जनताले विकल्प खोजिरहेको छ,मुक्ति खोजिरहेको छ,वास्तविक शान्ति,न्याय,अधिकार,विकास र समद्धि खोजिरहेको छ ।
।विगतको शताब्दी देखि राणा शासनवाट मुक्ति पाउन नेपाली जनताले विकल्प खोजे त्यसपछी पनि पन्चायतको विकल्प खोजे ,राजाको विकल्प पनि खोजे र अहिलेको परिस्थितिमा नेपाली जनताले फेरि यो राजनितीक खिचातानी र किचलोको पनि विकल्प खोजेको अर्थात यो दिकदार राजनितीमा वाक्क भएको प्रष्ट देख्न सकिन्छ । लेखक:भावना शर्मा अनेरास्ववियू केन्द्रीय कमिटी

तपाईको प्रतिक्रिया