सुर्खेत /जेसीजको क्षेत्र ‘घ’सम्मेलन वीरेन्द्रनगरमा हुने भएको छ । नेपाल जेसीजको आयोजना र वीरेन्द्रनगर जेसीजको आतिथ्यतामा भदौ ११ र १२ गते सम्मेलन हुन लागेको हो । दुई दिनसम्म चल्ने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको सम्मेलन निर्देशक नन्द बिसीले बताए । आयोजकले बुधवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर सम्मेलनको तयारीबारे जानकारी दिएको हो ।
सम्मेलनको उद्घाटन कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गर्ने बताइएको छ । सम्मेलन भौतिक उपस्थिति र भर्चूअल दुवै माध्यमबाट हुने आयोजकले बताएका छन् । सम्मेलन निर्देशक बिसीले भौतिक रूपमा सीमित व्यक्तिहरूलाई मात्रै उपस्थित गराइने र जनस्वास्थ्यका मापदडलाई पूर्णरूपमा पालना गर्दै कार्यक्रम गर्ने तयारी गरिएको बताए । भौतिक रूपमा उपस्थित नहुनेका लागि भर्चूअल माध्यमबाट सहभागिताको व्यवस्था मिलाइएको हो । उक्त सम्मेलनमा शाखाहरूबाट अध्यक्ष र भर्चूअल रूपमा क्षेत्र ‘घ’ का ६ सय बढी युवाहरू सहभागी गराइने बताइएको छ ।
नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सुमनकृष्ण श्रेष्ठले सम्मेलनले १८ वर्षदेखि ४० वर्ष मुनिका युवालाई सकारात्मक सन्देशका साथ नेतृत्व तथा व्यक्तित्व विकासमा टेवा पुग्ने बताए । उनले यस क्षेत्रको व्यापार, पर्यटन तथा पहिचान प्रवद्र्धनमा सम्मेलनले टेवा पुग्ने विश्वास व्यक्त गरे । नेपाल जेसीजले प्रत्येक वर्ष यस्ता खाले सम्मेलनको आयोजना गर्दै आएको छ ।
यो समाचार साझा विसौनी
बालिका आचार्य । १० भाद्र २०७८, बिहीबार ११:५७