नेकपा एकीकृत समाजवादी पार्टीमा छु – खनाल

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अब आफू नेकपा एकीकृत समाजवादीमा आवद्ध रहेको बताएका छन्।

भारतको नयाँदिल्लीस्थित एपोलो हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री झलनाथ खनालले शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो साथ र समर्थनमा नयाँ दर्ता भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)लाई रहेको बताएका हुन्। एमालेका नेता माधवकुमार नेपाल नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छन्।

निर्वाचन आयोगले भदौ ९ गते नेकपा एकीकृत समाजवादी दर्ताका लागि केन्द्रीय सदस्य र सांसदहरूको सनाखतका लागि बोलाएको छ। आयोगका अनुसार भदौ ९ गते बिहान साढे ११ बजेदेखि २ बजेसम्मको समय छुट्याइएको छ। सनाखत सकिएसँगै सोही दिन नयाँ दल दर्ता हुने छ। दुवै दलका नेतालाई नागरिकतासहित उपस्थित हुन भनिएको छ।

एमालेमा रहँदा नेपाल-खनाल निकट भनिएका स्थायी समिति र केन्द्रीय सदस्यहरुले नयाँ पार्टी गठन गर्ने नेता नेपालको निर्णयमा साथ दिएनन्। दल दर्ता निवेदनमा खनाललाई वरिष्ठ नेता राखिएको छ। सुरुमा साथ नदिएका एमाले उपाध्यक्ष वामदेव गौतमले बिहीबार आफू नयाँ दलमा जाने बताएका थिए।

तपाईको प्रतिक्रिया