सुर्खेत/नेकपा एमाले माधव नेपाल समूहका कर्णाली प्रदेश संयोजक तथा कर्णालीका पूर्व मन्त्री प्रकाश ज्वालाले केपी शर्मा ओलीले कम्युनिष्टको नाममा व्यवस्थालाई आघात गर्ने काम गरेको आरोप लगाएका छन् । उनले राजतन्त्रलाई ढालेर ल्याएको लोकतान्त्रिक व्यवस्थालाई ओलीले कुल्चन खोजेको आरोप लगाए ।
शनिबार वीरेन्द्रनगरमा नेकपा एमालेको युवा संघ नेपाल कर्णाली प्रदेश कमिटी तथा पिपुल्स भोलिन्टियर (पिभि) घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ज्वालाले ओलीले कम्युनिष्टको नाममा मनोमानी गरेको बताए । नेता ज्वालाले भने–‘हामीले लडेर ल्याएको गणतन्त्र बहुआयामिक छ । जनप्रतिनिधिमूलक संस्थामाथि केपी ओली र राजा ज्ञानेन्द्रले गरेको प्रतिगमनमा केही फरक छैन ।’ उनले थप भने– ‘राजाले गरेको प्रतिगमन हानिकारक हुने कम्युनिष्टको नाममा ओलीले गरेको प्रतिगमन सुन्दर र लोकतान्त्रिक हुने कुरा हुँदैन । जसरी राजा ज्ञानेन्द्रलाई नारायणहिटीबाट नागार्जुन पुर्याइएको थियो, त्यसैगरी केपी ओलीको प्रतिगमन ढालेर बालुवाटारबाट बालकोटको बार्दलीमा पुर्याइयो ।’
ओलीको प्रतिगमनलाई पराजित गर्न युवाहरुको अहम् भूमिका रहेको समेत उनले बताए । उनले भने– ‘दुई दुई पटक प्रतिगमन पराजित गरेर लोकतन्त्रलाई बचाएका छौँ ।’ नेता ज्वालाले केपी ओलीलाई भारतले एउटा पात्रको रुपमा प्रयोग गरिरहेको आरोप समेत लगाए । पार्टीको पोलिटब्युरो सदस्य समेत रहेका ज्वालाले ओलीको प्रतिगमनको अन्त्य माधव नेपालकै अगुवाइमा भएको जिकिर गरे ।
ओलीको सोच लोकतन्त्रको पक्षमा थियो कि थिएन भन्ने कुरा उतिबेला नै आन्दोलनको क्रममै पुष्टि भइसकेको थियो नि ! राजतन्त्रको विरुद्धमा सडकमा कार्यकर्ता लडिरहेका बेला बालकोटको छतबाट काजू खाँदै ओली भन्दै थिए ‘ बयलगाडा चढेर अमेरिका जान सकिँदैन’ ज्वालाले भने, ‘राजतन्त्र फाल्न असम्भव भन्थे ओली । तर,हामीले फाल्यौँ ।’ ओलीकै कारण एमाले पार्टी संकट परेको उनको आरोप छ ।
ओली र राजाले गरेको प्रतिगमन एउटै नेता- ज्वाला
तपाईको प्रतिक्रिया
बालिका आचार्य । ३० श्रावण २०७८, शनिबार २२:१५