स्वदेशमै भेटिन्छ सम्भावना

सुनिता बराल /हामी सामान्यतया स्वाभाविकभन्दा पृथक विचारले तानिन्छौँ । स्विकार्ने/नस्विकार्ने विषयमा छलफलपछि निष्कर्षमा पुगिएला । तर, झट्ट तानिने फरकखालको विचार, काम, सोच वा व्यवहारले नै हो । सिकाइ वा ज्ञान लिने दिने काममा वा अन्य व्यावहारिक सन्दर्भमा फरकपनाले ध्यान तान्छ । यही फरकपनाको खोजीले नै मानिसलाई विकासमा अघि बढाउने हो । तर, कतिपय सन्दर्भमा मान्छे फरकपनाको खोजीले असन्तुष्ट भएर यतिसम्म भौँतारिन्छ उसको दु:खको मूल कारक नै त्यही फरकपना हुन् जान्छ । हामीकहाँ केही सम्भावना भएन भन्दै श्रम, अध्ययन वा घुमफिरका नाममा बिदेसिएर उतै स्थापित हुन् चाहने परम्पराले के यहाँ सम्भावना सकिएकै हो ? भन्ने बहस सुरु भएको छ । एउटा असन्तुष्ट जमात फरक र राम्रो खोज्दै आफ्नो वरपरका सबै सम्भावना भुलेर बिदेसिँदै गरेको छ । त्यस्तै, नेपालभित्रै सम्भावना देखेर फर्किने पनि छन् । कतिपयले अरूले पाएका दु:खबाट पाठ सिकेर नेपालमै सम्भावना खोज्न प्रेरित भएका छन् । ०५४ को स्थानीय निकायका निर्वाचित जनप्रतिनिधि ललितपुरका अमृत खड्का आफ्नो कार्यकाल सकेपछि राजनीतिमा लागेर समाजसेवाको भावना पूरा गर्न चाहन्छन् । तर, पैसा कमाउन व्यवसाय गर्नैपर्छ भन्ने सोचले उनलाई फरक ढंगको व्यवसायतर्फ तान्यो । राजनीतिमा अर्को पुस्तालाई अवसर दिनुपर्छ भन्दै व्यवसाय थालेका खड्का १० वर्षमा सर्वोत्कृष्ट निर्यातकर्ताका रूपमा राज्यबाट पुरस्कृत भए । उनले अमेजनको अनलाइन स्टोरसम्म नेपाली ह्यान्डीक्राफ्टको बजार पुर्‍याएका छन् । लगानीकर्तालाई उत्कृष्ट प्रतिफल र श्रमिकलाई सहज रोजगारीको कोणबाट नयाँ सम्भावनाको व्यवसायबाट सफलता प्राप्त गरेका रहेछन्, उनले । नेपालको ट्राफिक जाम र ट्याक्सीको मनपरीबाट राहत दिन यस क्षेत्रमा काम गर्नुपर्ने सम्भावना देख्यो एउटा समूहले । दिक्क सेवाग्राहीको मानसिकता बुझेर शिक्षित भट्टलगायतको टिमले टुटल सुरु गर्‍यो । उनको यो सोच छोटो समयमै आममानिसको ध्यान तान्न सफल भयो । देशभित्रका प्रचलित कानूनको सन्दर्भका केही प्राविधिक कमजोरीबाहेक टुटलले सम्भावनाको खोजी गर्ने सन्दर्भमा राम्रो सफलता हात पारेको छ । काठमाडौंमा पानीअभावले आजित उपभोक्ताको समस्यालाई सम्भावना देखेर इन्जिनियरिङ अध्ययन गरेका विकास सुवेदी, ऋचा धमला र निकुञ्ज भण्डारीले नयाँ सोच बनाए । उनीहरूको सामान्य बसाइको एउटा सोच व्यवसायका रूपमा रूपान्तरण भयो । अनलाइनमार्फत कपडा संकलन गरेर धोएर घरमै पुर्‍याइदिने योजनासहित अनलाइन धोबी सेवा सुरु भयो । जुन लोकप्रियतातर्फ उन्मुख छ । देशभित्रै सम्भावना खोज्ने युवा, जसले विदेशमा गएर पनि मिहिनेतविना पैसा कमाउन नसक्ने बुझेका छन्, उनीहरू देशभित्रै फरक कोणबाट व्यवसाय गरिरहेका छन् । उनीहरूका अनुभवले नेपाल कम पुँजी र कम मिहिनेतमा धेरै पैसा कमाउन सकिने देश हो । नेपालभित्र साना भनिएका थुप्रै पेसा, जसमा भारतीय श्रमिक लाखौँको संख्यामा कार्यरत छन् । उनीहरू दैनिक खर्च कटाएर प्रतिव्यक्ति मासिक एक देखि डेढ लाख रुपैयाँसम्म घर पठाउँछन् । यसले पनि प्रस्ट्याउँछ कति रोजगारीतर्फ हामीले ध्यान नदिएका कारण यहाँको रकम बाहिरिएको छ । अनि किन छैन देशमा सम्भावना ? सीपमा आधारित उद्यममा युवापुस्ताको ध्यान गएको खण्डमा उनीहरू आम्दानीका लागि कहीँ जानुपर्दैन । तर, पनि शिक्षित पुस्ता युरोप, अमेरिका, जापान, अस्ट्रेलियाको मोह बोकेर भौँतारिएको छ भने श्रम गर्ने पुस्ता कोरिया, इजरायल, युएई, मलेसिया, अरबलगायत मुलुक धाइरहेको छ । शिक्षित बेरोजगार बढ्नुमा शिक्षा प्रणाली पनि दोषी छ भने संस्कार पनि अलिअलि दोषी छ । हाम्रो अघिल्लो पुस्ता कृषिमा निर्भर थियो, त्यो पुस्ताले सन्ततिलाई सफल कृषक बन्नुपर्छ भन्ने प्रेरणा दिन सकेन । हाम्रो संस्कारले कृषि वा सीपमा आधारित उद्यमभन्दा राम्रो जागिर खानुपर्छ भन्ने सिकायो । बरु विदेश जाने, तर व्यवसाय नगर्ने सोच हावी भयो । कर्जा सुविधा सहज हुने र जोखिममा पर्दा राज्यले बहन गर्ने व्यवस्था प्रभावकारी हुने हो भने, उद्यमतर्फ सबैको ध्यान बढ्नेछ । हाम्रोमा रहेको घरेलु सम्भावना, समृद्धिको स्रोत आदिलाई राम्रो गरी परिचालित गर्नुपर्छ । नेपालभित्र विशेष गरी नकरात्मक सोचले सम्भावना खोज्न चाहिरहेको छैन । यो हुँदैन होला, पहिले भएकै थिएन भन्दै नयाँ कोणबाट सोच्न कोही पनि तयार छैनन् । सरकारले व्यवस्था गरिदिएको बजेट तथा सुविधा फ्रिज भएर फर्किरहेको छ । तर, बेरोजगारको ध्यान गएको छैन । त्यसले हाम्रो सोचमा देखिएको समस्यालाई जरैदेखि पुनरावलोकन गर्नुपर्नेछ । वर्तमान सरकारले प्रभावकारी कार्यक्रमको रूपमा सुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम दोस्रोपटक म्याद थप्दा पनि अपेक्षित रूपमा सफल देखिएन । व्यक्ति, जो बेरोजगारको रूपमा सूचीकृत हुन् आउने अपेक्षा गरिएको थियो । उनीहरू नआउनुले पनि त्यहाँ सूचीकृत हुँदैमा रोजगार पाइँदैन भन्ने मनोविज्ञानले काम गरेको बुझ्न सकिन्छ । कार्यान्वयन गर्ने तहमा देखिएका केही नकारात्मक सोच पनि समस्याको रूपमा देखिएका छन् । सबै पक्षले संवेदनशील हुँदै नेपालमा सम्भावना खोज्ने हो धेरै सम्भावना भेटिन्छन् । औपचारिक रूपमा खोजिएका थुप्रै सम्भावनाभन्दा व्यावहारिक रूपमा हामीले उपेक्षा गरेका सम्भावना बलिया र दीर्घकालीन स्रोत हुन् सक्छन् । -लेखक बरालको आज विमोचन हुन लागेको पुस्तक ‘समृद्धि प्राप्तीको संकल्प’ बाट यो सामाग्री लिईएको हो । युवा नेतृ बरालले लेखेको उक्त पुस्तक पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आज विमोचन गर्दैछन् । 

तपाईको प्रतिक्रिया