वर्दी बिनाको सिपाहीं म

संगिता वली।सिमसिमे पानी पछि खुलेको रमाईलो दिन थियो । ३वर्षकी सानी छोरिलाई हतार-हतार खाना खुवाएर म अफिसमा पुगे र आजको कोभिड १९ को अपडेट के रहेछ भनि न्यूज हेर्न थाले सुरुमै कोभिड १९ को कालिकोटको आजको अपडेट भनेर आयो त्यसमा क्लिक गरेको खुल्दै खुलेन सायद ईन्टरनेटको कारण होला तर पनि खुल्छ कि भनेर हेरिरहेको थिए,अपडेट के होला,के-के भयो होला ? भनि मनमा कुरा खेलिरहेको थियो त्यतिकै मा अफिसको फोन बज्यो मैले नमस्कार १०९८ बाल हेल्पलाईन कालिकोट भनेपछि एक जना बालकले मलिन स्वरमा भने “दिदि आज म बसेको आईसोलेसन अस्पतालमा एक जनाको मृत्यु भयो, मेरी आमा र म १० दिन देखि यस अस्पतालमा बसेका छौं।अघि सम्म त सन्चो हुन्छ भन्ने आशामा बसेको थिए तर अहिले म मर्दैछु जस्तो लागेको छ दिदि मलाई यहाँ बाट तुरुन्तै लैजानुहोस म मर्न चाहन्न।मलाई बचाउनु होस्” भन्दै भक्भकि रुंदै बोलिरहेको त्यो आवाजले मेरो मनमा त्रास,डर,संकट अनि मन काटिएर आयो। मैले आफुलाई सम्हाल्दै भने बाबु मृत्यु भएको व्यक्ति को हो ?कति वर्षको अनि कुन ठाउंको हो ? जस्ता केहि प्रश्नहरु गरेर मैले बालकलाई त्यस मृत्युसंग निडर बनाउन प्रयास गर्दै महामारीले सिङ्गो विश्वलाई आक्रान्त पारेको वर्तमान परिवेशमा कोभिड-१९ले कसरी मानव समाजमा प्रभाव पार्दछ भन्ने बारेमा हामिले छलफल ग¥यौ।सोहि क्रममा ति बालकलाई भन्दै थिएं “रुघाखोकी लाग्दैमा कोरोना हुंदैन,कोरोना लाग्दैमा मान्छे मरिहाल्दैन, मनमा डर,त्रास र चिन्ताले आत्म विश्वास गुमायो भने मर्नको लागि कोरोना खोज्नु पर्दैन त्यसैले आत्माबल बलियो बनाउनु पर्छ र म बांच्छु भन्ने मनमा दरो बिश्वास लिनुपर्छ” भन्दै थिएं, त्यतिकैमा आईसोलेसनमा खाजा खाने समय भएछ क्यारे उनकी आमाले बाबु खाजा आयो अव फोन राख भनेको आवाज आयो ति बालकले केहि नभनी फोन राखिदिए ।
म फेरि नेट चल्छ कि भनि न्युज हेर्ने प्रयासमा लागें र एउटा समाचार देखे कालिकोटमा एक सुत्केरीको मृत्यु । त्यस पछि हतार हतार त्यो घटना पढ्न थाले। सुत्केरी पछि अत्याधिक रक्तश्रावकोे कारण दोश्रो सन्तान जन्माएर १९ वर्षिय सुत्केरीको ज्यान गएको रहेछ । सुत्केरी हुनुको तिन दिन अगाडिदेखिनै रक्तश्राव भएको र घरको परिवारले कोरोनाको डरले जिल्ला अस्पताल लै जानुको साटो घरमै राखेका रहेछन्, सुुत्केरी बेथाले च्यापे पछी नजिकैको स्वास्थ्य चौकी पु¥याएपछि बच्चा नर्मल जन्मेको तर एक घण्टा पछि धेरै रगत बगेर सुत्केरीको मृत्यु भएको उप-प्रमुख ले जानकारी दिईन सम्म पढेर मात्र सकेको थिए फेरि अफिसको फोन बज्यो र मैले उठाए एक अधवैसे महिलाको आवाज थियो मेडम म र मेरो ३वर्षकी छोरीलाई मेरो श्रीमानले पागल्नी मेरो घरबाट निस्केर जा, राक्षस जस्तो कति भोक लाग्छ तिमिहरुलाई चाहेको खान र खर्च गर्नलाई त आफैले कमाउनु पर्छ म तिमिहरुलाई पाल्न सक्दिन भनिरहन्छन् भन्दै रुन थालिन माईतिमा जाउं भने लक डाउन छ घरबाट निस्कन समेत पार्इंदैन घर भित्र श्रीमानले बस्न दिंदैन।बच्चा नभएको भए त म मरिसक्थें होला मेरो परिस्थिले मलाई मानसिक रोगी बनायो।डिप्रेसनको औषधि खांदै आएको पनि ३/४ वर्ष जति भैसक्यो।म आफुलाई सम्हाल्न धेरै कोसिस गर्छु, मिठो बोल्छु, हास्ने कोसिस गर्छु, बच्चा को स्याहारमा ब्यस्त रहन्छु तर रात पर्न थाल्यो भने घर छोडेर हिंडौ जस्तो लाग्छ, मैले कति दिन यसरी मर्दै बाच्न सक्छु भनिदिनुस मेरो लागि तपाई के गर्न सक्नु हुन्छ मैले हजुरसंग ठुलो आशा बोकेर फोन गरेको हुं भनीरहनु भयो । विच विचमा समानुभूति दिंदै मैले सान्त भएर सबैकुरा सुने अनि अहिलेको यो अवस्थामा त्याहां आउनसक्ने अवस्था नभएको त्यसैले गाउंपालिकामा आफ्नो समस्या राख्न सुझाब दिंदै कस्तोे सहयोग चाहिएको हो ? भनेर उहांलाई सोधे उहांले भन्नुभयो, यस्तो लक डाउन छ त्यति टाढाबाट अरु केहि गर्न सक्ने अवस्था छैन मेरो कुरा सुनिदिनु भयो, अव म केहि समस्या परेमा गाउंपालिकाका अध्यक्षलाई भन्छु र फेरि तनाब भएमा हजुरलाई फोन गर्छु हल्का महसुस गराईदिनु भयो धन्यवाद भनेर फोन काटियो ।
म मन मनै सोच्न थाले कोभिड १९ मात्र नभई हरेक महामारी वा विषम परिस्थितिमा हरेक बालक, बालिका, महिला, पुरुष, बृद्ध, बृद्धाहरुमा डर लाग्नु, चिन्ता लाग्नुु, निन्द्रा नलाग्नु, खान मन नलाग्नु, नराम्रो वा डर लाग्ने सपना देख्नु, टोलाउनु वा झस्किनु स्वभाविक नै हो यसलार्ई असामान्य अवस्थाको सामान्य प्रतिक्रिया भनेर मनोसामाजिक रुपले बुझाउने प्रयास गरिएको छ तर यस्ता लक्षणहरु २ हप्ता भन्दा बढि समयसम्म पनि निरन्तर देखिन थाले र त्यस्ता ब्यवहारले ब्यक्तिको दैनिक क्रियाकलापमा नै अवरोध आएमा त्यसलाई मनोसामाजिक समस्याको रुपमा बुझ्न सकिन्छ भनेर म मेरा कर्मचारी साथिहरुसंग छलफल गर्दै थिए । त्यतिकैमा एक जना बालिका कार्यलयमा आईन् हामिले उनलाई माक्स र सेनिटाईजर लगाउन दियौं र थर्मलगन ले ज्वरो मापन ग¥यौं र उनले आफ्नो सामान्य स्वास्थ्य अवस्थाबारे जानकारी गराएपछि आगन्तुक रजिस्टरमा नाम दर्ता ग¥यौं । उनलाई यस्तो परिस्थितिमा कार्यलयमा आउनुको कारण सोध्यौं । उनले भनिन् मेरो घर जुम्ला हो हाल म १४ वर्षकी भएं मेरो आमाले दिदिलाई र मलाई जन्म दिएपछि विरामी भैरहन थाल्नुभएछ,शरिर कहिल्यै स्वास्थ छ नभन्ने मेरी आमा आज भन्दा ४ वर्ष अगाडि क्यान्सरको कारण वित्नुु भयो।त्यसपछि बुवाले १ छोराकी आमालाई विवाह गर्नुभयो तर विहेपछि बुवा आमाको घरमा बस्ने गर्नुभयो, दिदि र म संगै बस्थ्यौं लगभग ६ महिना पछि दिदिले पनि विवाह गर्नुभयो र म एक्लै भएं, छिमेकि र आफन्तको सल्लाह अनुसार म बुवाआमासंग बस्न थाले तर त्यहां पनि खासै राम्रो ब्यवहार भएन उता दिदिलाई विवाह गरेको भिनाजुले पनि अलपत्र अवस्थामा छोडिदिएपछि दिदि हामिसंग आउनु भयो, छिमेकि र आफन्तहरुको कुराले वस्न सक्ने अवस्था भएन दिदिले कालिकोटमा जाउं त्यहि केहि गरेर बसौला भनि हामी यहां आयौं । हाल दिदिले एउटा गैरसरकारी संस्थामा कार्यलय सहयोगीको काम गर्नुहुन्छ त्यहि पैसाले सबै खर्च बेहोर्नु पर्छ पढ्ने ईच्छा थियो तर पैसा नै पुग्दैन त्यसैले यस संस्थाले आफुलार्ई कुनै सहयोग गर्छकि भन्ने आशा बोकेर आएको सासै नरोकी उनले बताईन।यसरी कोभिड १९ का कारण बिश्व नै स्तब्ध भएको, सबै क्षेत्रका सेवा प्रबाहहरु रोकिएको, मानविय सभ्यताको बिनाश हुन लागेको अवस्थामा, मानिसहरुका डर, त्रास र भयले आक्रान्त भएको वर्तमान अवस्था अनि मानिस देखि मानिस डराउनु पर्ने अवस्था, दिनहुं संक्रमितको बढ्दो दर त्यस्तै कोरोनाकै कारण मर्नेहरुको दर पनि बढीरहेको अवस्थामा म र मेरा साथिहरु २४ सै घण्टा बाल हेल्पलाईन १०९८ तथा महिला र बालबालिका केन्द्र द्धारा प्रदान गरिने सेवा प्रदान गर्ने कार्यमा खटिरहेका छौं । यस महामारीका कारण जोखिममा रहेका बालबालिकाहरुको अवस्थामा थप जोखिम नपरोस भनी काम गर्दा कता-कता आफुलाई विना वर्दीको सिपाहीं बनेको आभाष हुन्छ । संगिता वली सोसेक नेपाल कालिकोट जिल्ला संयोजक

तपाईको प्रतिक्रिया