सुनिता बराल
मदनले जहिले पनि जनताको सर्वोच्चता र आमूल परिवर्तनलाई जोड दिँदै सबै प्रकारका तानाशाही, त्रास, धम्की र एकदलीय निरंकुशतालाई सदैव विरोध गनुभयो । अवको हाम्रो बाटो पनि यसतर्फ लक्षित भएन भने स्वभिमानी नेपालीकोे पहिचान कमजोर बन्ने देखिन्छ । जननेता कमरेड मदनकुमार भण्डारी र कमरेड जीवराज आश्रितको मृत्युको रहस्य त अझ रहस्यमय बन्दै गएको छ, तर हामीले उहाँका महान विचारको अनुशरणमा ईमान्दारिता मात्रै देखायौं भने पनि तिनी दुई होनहार राजनितीक व्यक्तिप्रतिको साँचो श्रद्धाञ्जली हुनेछ
“सिद्धान्तका निम्ति जीवन होइन, जीवनका लागि सिद्धान्त हो ।” यो भनाई जननेता मदनकुमार भण्डारीको हो । के भइरहेको छ त्यो हेर्ने मात्र होइन, के हुनुपर्छ र के हुनसक्छ भन्ने सर्वमान्य विकल्पको खोजी गर्ने एउटा विचारक र देशको स्वाभिमानलाई उच्च राख्न देशभक्ति र निश्वार्थ स्वतन्त्रताको लडाईका एक वीरपुरुषको रुपमा स्मरण गरिने व्यक्तिको स्थानमा पर्ने नेताको रुपमा पर्नुहुन्छ मदन भण्डारी ।
२००९ सालमा जन्म भई ताप्लेजुङ्गको ढुङ्गेसाँघुदेखि चितवनको दासढुङ्गासम्मको करिब ४१ वर्षको जिवनको यात्रामा नेपाली राजनितिको क्षेत्रमा एमालेको महासचिव भनेर मात्रै चिनिएनन, विश्वको राजनीतिक इतिहासमा समेत स्मरणीय बने । मदन भण्डारी कम्युनिष्ट आन्दोलनको प्रजातान्त्रिकरणका नायक, नेपाली समाजको प्रगतिशील रुपान्तरण गर्ने निष्ठावान एवं जनताको बहुदलीय जनवादका प्रवर्तकका रुपमा स्थापित छन । जसको विचार जनताको बहुदलीय जनवादलाई नेकपा एमालेको राजनितीक कार्यक्रमको रुपमा पाँचौ राष्ट्रिय महाधिवेशनबाट नेपाली क्रान्तिको मौलिक कार्यक्रमको रुपमा अघि बढाईएको थियो भने आज पनि यो उतिकै लोकप्रिय र नेकपा एमालेको मार्गदर्शन सिद्धान्तको रुपमा स्थापित छ ।
जनताको बहुदलीय जनवाद (जबज) को महत्वपूर्ण पक्ष भनेको जनतासँगको नियमित सम्पर्क र सम्बन्ध अनि यसैको माध्यमबाट जनताको भावना बुझ्ने र सोहीअनुसारको नीति, योजना र कार्यक्रम बनाएर जनताको भावना र आवश्यकताको सम्मान गर्नु हो । हुनत कम्युनिष्ट पार्टीको सार्मथ्य, वैधता र सान्र्दभिकता उसले जनताको जीवनसँग निरन्तर राख्ने निकट सम्बन्ध, जनताको समस्या समाधानमा उसले गर्ने निरन्तरको अगुवाई र जनताको निरन्तर अनुमोदनमा भर पर्दछ । त्यसो हुन सकेन भने पार्टीको आकार या पार्टी सदस्य संख्या आफैले केही अर्थ राख्दैनन । जसको उदाहरणको रुपमा डेढ करोड भन्दा बढी सदस्य रहेको सोभियत संघको कम्युनिष्ट पार्टीको विघठनबाट प्रष्ट बुझ्न सकिन्छ ।
२०४७ सालमा रसिया विघटनपछि विश्वका कम्युनिष्टहरु निराश भएको अवस्था थियो । पूँजीवादीहरुले संसारमा विचारधारा होइन, विभिन्न जाति, संस्कृति र सभ्यताहरुको द्धन्द हुनेछ भन्ने अवधारणा अगाडि सार्न थालेका थिए । विश्वका समाजवादीहरु रक्षात्मक अवस्थामा पुगी कम्युनिष्टहरुमा वैचारिक अभाव खडकिएको बेला नेपालमा जनताको बहुदलीय जनवाद एक वैचारिक र सशक्त समाधानको रुपमा उदय भएको हो ।
जबजलाई मदनले कम्युनिष्ट पार्टीलाई अगाडि बढाउनको लागि निरकुंश र एकाधिकारवादी तरिकाले सञ्चालन हुन नसक्ने, यसको लागि बहुदलीय प्रतिश्पर्धाको मर्म र भावनालाई आत्मसात गर्नुपर्ने कुरामा जोड दिनुभएको छ । यसैगरी समाजको नेतृत्वको समाजभित्र रहेको विचार, चिन्तन, वर्ग, समुदाय, लिङ्गसँग प्रतिस्पर्धाको माध्यमबाट श्रेष्ठता हासिल गर्ने कुरामा थप जोड दिँदै यसले मात्र समाजको नेतृत्व गर्न सक्दछ भन्नुभएको छ ।
जबजलाई अझ सजिलो तरिकाले बुझ्न सकिन्छ, मदनकै शब्दमा जबजका १४ विशेषताका रुपमा । १. संविधानको सर्वोच्चता २. बहुलवादी खुला समाज ३. शक्ति पृथकीकरणको सिद्धान्त ५. मानव अधिकारको रक्षा ६. बहुदलीय प्रतिस्पर्धाको प्रणाली ७. आवधिक निर्वाचन ८. बहुमतको सरकार, अल्पमतको प्रतिपक्ष ९. कानुनको शासन १०. जनताको जनवादी व्यवस्थाको सुदृढीकरण ११. राष्ट्रिय हितमा आधारित विदेश नीति १२. नेतृत्व र अधिनायकत्वको नयाँ अवधारणा १३. जनवादी व्यवस्थाको सुदृढीकरण १४. जनताको बहुदलीय जनवाद रहेका छन ।
नेपाली समाज एउटा आफैमा विशिष्टता भएको समाज हो । सामान्यत हेर्दा यहाँको भौगोलिक अवस्था, सांस्कृतिक बाहुल्यता, प्राचिन कालबाट नै लोकतान्त्रिक शासन व्यवस्था अँगालेको मुलुकलगायत विभिन्न समयमा भएका क्रान्तीका पक्षहरु हेर्दा विशिष्टता पाइन्छ । जबजले विशेषतः नेपाली समाजको विशिष्ट अवस्था, अन्तर्राष्टिय कम्युनिष्ट आन्दोलनको विशिष्ट अवस्था र नेपाली कम्युनिष्ट आन्दोलनको विशिष्ट अवस्थालाई वस्तुगत आधार मानी आफ्ना मान्यताहरुलाई अगाडि बढाएको छ । जसलाई पछिल्ला राजनितीक क्रान्तीहरुले प्रमाणित गर्दै आएका छन ।
नेपालमा २०६२÷०६३ को जनआन्दोलन सफलतापूर्वक सम्पन्न भयो । शान्तिपूर्ण जनक्रान्तिको रुप लिन पुगेको त्यस जनआन्दोलनको बलमा व्यवस्थापिका संसदबाट पारित राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको प्रस्तावलाई संविधानसभाको पहिलो वैठकले कार्यान्वयन गर्ने निर्णय गरेर हजारांै वर्षदेखि नेपाली जनतामाथि शोषण एवं शासन गर्दै आएको राजतन्त्र ढालियो । यस ऐतिहासिक घटनाबाट शान्तिपूर्ण जनसंघर्षमार्फत युकान्तकारी परिवर्तन संभव हुन्छ भन्ने तथ्यसँगै जनताको बहुदलीय जनवाद व्यवहारीक रुपमा नै नेकपा एमालेको मात्रै होइन, सवैका लागि सर्वस्विकार्य बनेको छ ।
२०६५ को फागुनमा आयोजित नेकपा एमालेको आठौं महाधिवेशनबाट जबजका आधारभूत सिद्धान्तहरुले हामीलाई बदलिंदो राष्ट्रिय र अन्तराष्ट्रिय परिस्थितिको विश्लेषण गर्न, नेपाली समाजमा रहेका विभिन्न सामजिक अन्तर्विरोधहरुको अध्ययन गर्न र बुझ्न, नेपाली समाजको वर्ग संघर्षलाई विकास गर्न, विसर्जनवाद, उग्रवादबाट जोगाएर अगाडि बढन, नेपाली जनवादी क्रान्तिलाई अघि बढाउन, एउटा स्वतन्त्र मुक्त जनवादी नेपालको निर्माण गर्न, लोकतान्त्रिक विधि र तरिकाका साथ समाजको चौतर्फी रुपान्तरण गर्न, देशको स्वतन्त्रता, सार्वभौमसत्ता, राष्ट्रिय अखण्डतालाई सुदृढ बनाउन, हाम्रा विश्व सम्बन्धहरुलाई विकास र विस्तार गर्न र नेपाली समाजलाई क्रमशः समाजवादको उज्जल भविष्यतिर रुपान्तरण गर्नको निम्ति प्रष्ट रुपले मार्गदर्शन गर्दछ । त्यसैले जबजलाई एमालेले एउटा सिद्धान्तको रुपमा मात्रै नभएर पार्टीको मार्गदर्शक सिद्धान्तको रुपमा अवलम्बन गर्यो ।
नेपाली राजनीतिका दुई प्रमुख धार माओवादीको उग्रवामपन्थ र नेपाली कांग्रेसको यथास्थितीवादसँगको संघर्षमा जबजका मान्यताहरु सही सावित भएका छन । तथापी यसको मर्मलाई आत्मसाथ गरेर नेपालको संविधानअनुसार शान्तिपूर्ण बाटोबाट समाजवाद निर्माणको आधार तयार गर्ने पक्षलाई हेर्दा मात्रात्मक परिवर्तनहरु देखिन थालेको भएपनि गुणात्मक फडको मार्न सकेको देखिदैन । नेपालका अझैपनि केही बौद्धिक व्यक्ति जो आफुलाई माक्र्सवादी र प्रजातन्त्रवादीको रुपमा प्रस्तुत गर्न रुचाउछन, उनीहरुले जातिगत समुदायको हित तथा राज्यसत्तामा कायम रहेको आफ्नो समुदायको एकाधिकार रक्षा गर्न अनेकौ विचारधारात्मक संघर्ष गरिरहेको देखिन्छ ।
राज्य सत्ताको आडमा शासक वर्गको एउटा राष्ट्रले अर्को राष्ट्रमाथि गरिएको वर्गीय, जातीय, भाषिक, धार्मिक, क्षेत्रीय, सामाजिक, आर्थिक, राजनीतिक आदि विभिन्न क्षेत्रमा गरिएको शोषण, दमन र विभेदहरुलाई कायम राखी धमिलो पानीमा माछा मार्नका लागि पहिचानको राजनीतिबारे अनेकौं भ्रम सिर्जना गर्दै आएका छन । उनीहरुको भ्रमित तर्कअनुसार पुँजीवादको तीव्र विकासले माक्र्सवादको विकासको आधार सिर्जना भयो तर माक्र्सवादलाई समाप्त गर्नको लागि पहिचानको राजनीतिको सुरुवात गरियो । राजनीति वाम आन्दोलनलाई पथभ्रष्ट बनाउने, अराजनीतिक बनाउने र पुँजीवादको शोषणमा परेको जनध्यानलाई अन्यत्र मोडने तरिका हो, लोकतन्त्रका लागि लडने उदारवादी पार्टीहरुका लागि यो उपयुक्त छैन भन्ने पंक्ति पनि रहेको छ ।
नेपालमा आफुलाई माक्र्सवादी भन्ने कम्युनिष्टहरुले नै पहिचानको राजनीतिक झण्डा बोकेको देखिन्छ तर माक्र्सवाद र पहिचानको राजनीतिबीच धेरै फरक रहेको छ । वास्तवमा कम्युनिष्टहरुले पहिचानको राजनीतिक एजेण्डा बोक्नु भनेको माक्र्सवादबाट धेरै टाढा पुग्नु हो । त्यसैले आफुलाई माक्र्सवादी र प्रजातान्त्रिक समाजवादी भन्नेहरुले यस पहिचानको राजनीतिक दर्शन तथा एजेण्डालाई लिएर हिडनु भनेको त्यो जनतालाई अल्मल्याउने काम हो । पछिल्लो समय अस्तित्वमा रहेका माक्र्सवाद र पुँजीवादी देशहरुले जातीय र वर्गीय समस्यालाई बल्झाउँदै गएको छ ।
नेपालको संविधानले सबै जात, धर्म, भाषा, भुगोलको विविधतालाई आत्मसाथ गरी समान दृष्टिकोण बनाएको छ । संविधानसभाबाट संविधान जारी भएपश्चात स्वाधिनता र स्वाभिमानको आन्दोलन तथा विकास र समृद्धिका बहस तथा योजनाले मुलुकमा सकारात्मक वातावरण सिर्जना भएको अवस्था छ । तर अहिले कतिपय कम्युनिष्ट पार्टीहरुका नाममा आएको विचलनले गर्दा यस्ता कुराहरुले संस्थागत विकास पाएका छैनन । पार्टीको स्थापनाका सन्दर्भमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह र लोकतान्त्रिक आन्दोलनको अग्रणी शक्तिका रुपमा स्थापित भएको जबवको सैद्धान्तिक धरातल र मार्गदर्शनमा दृढतापूर्वक उभिएर कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाएर लैजानका लागि आह्वान पनि गनुभएको थियो । तर आज हुर्किदै गरेको व्यक्तिवाद र अवसरवादी चिन्तनले यस विषयमा कोही गम्भिर बनेको देखिदैन ।
नेपाली कम्युनिष्ट आन्दोलनले विशिष्ट अवस्थामा निकालेका निष्कर्षहरु नियाल्ने हो भने राज्य व्यवस्था वा शासन प्रणाली दुवै क्षेत्रमा निर्णायक तत्व जनता हुन, जनताको चेतना र निर्णायक पहलकदमीबाट नै क्रान्ति सम्पन्न हुन्छ भने त्यसको रक्षा पनि जनताकै पहलकदमी, चेतना र सकृयताबाट मात्रै सम्भव हुन्छ । यदी बहुमत जनता कुनै राज्य व्यवस्था वा शासन प्रणालीको पक्षमा छैनन भने अन्तिम निष्कर्षमा कुनै पनि शक्तिले तिनीहरुलाई टिकाई राख्न सक्दैन । हाम्रो देशको राजनीतिक गती हेर्दा दौडिए जस्तो तर बुझ्दा भने हिडनलाई नै लरबरिएको स्थिती छ । यस्तो तरलताबाट अगाडि बढेको राजनितीक अवस्थालाई गति दिनका लागि विकासको विश्वाशको जगमा प्रतिपादन भएको जनताको बहुदलीय जनवादलाई अवलम्बन गर्नुको विकल्प देखिदैन ।
संविधानको सर्वोच्चतालाई जग मानेर अगाडि बढेको यो जबजको मान्यता अवको लोकतान्त्रिक गणतन्त्रका पक्षपातीहरुका लागि र्निविकल्प रहेको छ । जसको प्रर्वद्धनले नेपाली जनताको समृद्धी साथै जननेता मदन कुमार भण्डारीप्रति साचो अर्थमा सम्मान हुनेछ । अवको नेपालको संमृद्धीको माध्यम भनेको नै जबजको रक्षा, प्रयोग र विकास हो, यो आफैमा एक गतिशील सिद्धान्त भएकाले यसले आवश्यकताको गतिशिलतालाई बुझी नेपाली जीवनको मर्मलाई अनुशरण गर्नेछ । मदनले जहिले पनि जनताको सर्वोच्चता र आमूल परिवर्तनलाई जोड दिँदै सबै प्रकारका तानाशाही, त्रास, धम्की र एकदलीय निरंकुशतालाई सदैव विरोध गनुभयो । अवको हाम्रो बाटो पनि यसतर्फ लक्षित भएन भने स्वभिमानी नेपालीकोे पहिचान कमजोर बन्ने देखिन्छ । जननेता कमरेड मदनकुमार भण्डारी र कमरेड जीवराज आश्रितको मृत्युको रहस्य त अझ रहस्यमय बन्दै गएको छ, तर हामीले उहाँका महान विचारको अनुशरणमा ईमान्दारिता मात्रै देखायौं भने पनि तिनी दुई होनहार राजनितीक व्यक्तिप्रतिको साँचो श्रद्धाञ्जली हुनेछ ।
(अनेरास्वबियुकी नेतृ बरालको प्रकाशोन्मुख पुस्तक समृद्धिप्रतिको संकल्पबाट)
दियो खबर । ३ जेष्ठ २०७८, सोमबार ११:०३