टाउको ल्याएर प्रहरी कहाँ

धादिङ २० भाद्र
धादिङको नीलकण्ठ नगरपालिका– १३ खल्चेतबाट जिल्ला प्रहरी कार्यालय, धादिङवेशीबीचको दुरी अन्दाजी १० किलोमिटर छ । बीचमा जंगल पनि छ । कच्ची बाटो भएको कारण पैदल हिँडेर डेढ घण्टा लाग्छ । बिहीबार राति करिब १ बजेतिर उक्त बाटो हिँडेर एक युवक हस्याङ फस्याङ प्रहरी कार्यालय पुगे । प्रहरी कार्यालयको मुलगेटमा ड्युटीमा बसेका प्रहरी जवानले सोधे, ‘यति राति–राति कता हिँडेको ?’
तत्कालै ती युवाले टाउको लिएर आएको बताए । ड्युटीमा खटिएको प्रहरी जवान झस्किए । के टाउको ल्याएको भन्दै प्रश्न गरे । ‘म त मान्छे काटेर आएको,’ ती युवाले भने । ड्युटीको प्रहरीलाई अझैं पत्यार लागेन् । प्रहरी जवानले नपत्याएपछि ती युवकले झोलामा रहेको टाउको देखाइदिए । झोलामा एक पुरुषको टाउको मात्रै देखेपछि ती प्रहरीले तत्कालै धादिङका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक (इन्सपेक्टर) सरोज राईलाई खबर गरे ।
‘राती १ बजेको थियो । मैले हत्या गरेँ मलाई कारबाही गर्नुस्,’ ती युवकको भनाई उद्धृत गर्दै इन्सपेक्टर राईले भने, ‘यसो झोला हेर्दा नभन्दै एक पुरुषको टाउको मात्र थियो । झोलामा हत्यामा प्रयोग गरिएको खुर्पा पनि थियो ।’ सुरुमा ड्युटीमा रहेको प्रहरीले खबर गरेपनि पत्यार नलागेको इन्सपेक्टर राईको भनाइ छ ।उनले भने, ‘झोलामा टाउको देखेपछि होस हवासै उड्यो । त्यसपछि एसपीलाई खबर गरेँ ।’ टाउको बोकेर प्रहरी कार्यालयमा आत्मसमर्पण गर्ने युवा हुन् धादिङको निलकण्ठ नगरपालिका– १३ खल्चेतका २६ वर्षीय राजु परियार । परियार निर्माणको काम गर्छन् । परियारले सामान्य विवादमा सोही ठाउँका ६५ वर्षीय सोम बहादुरको खुर्पा प्रहार गरी हत्या गरेका हुन् । हत्यामा संलग्न परियारलाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको राईले बताए ।
आवेगमा आएर हत्या
१८ भदौमा खल्चेतस्थित डिलबहादुर गुरुङको घरमा घेवाको निम्तो थियो । उनीहरु दुवैजना निम्तो मान्न गएका थिए । भोजमा उनीहरुले रक्सी पनि पिएका थिए । निम्तो मानी घर फर्किने क्रममा उनीहरुको बाहुनधारा खोल्सा र मनरुपी मन्दिरको कच्ची सडकमा भेट हुन्छ । त्यतिबेला रातिको १० बजेको थियो । परियारले गुरुङलाई सोध्छन्, ‘यति राति कता हिँड्नुभएको ?’
गुरुङले ‘तेरो श्रीमतीलाई भेट्न जान लागेको’ भन्छन् । परियारले रिसाउँदै भने, ‘यस्तो उमेरमा पनि नचाहिने कुरा गर्ने ?’ गुरुङले फेरी ‘तेरो श्रीमतीसँग गएर सुत्छु’ भन्छन् । गुरुङको कुराले परियार रिसले आगो हुन्छन् । केही नभनी घरतर्फ जान्छन् । घरको बार्दलीमा रहेको खुर्पा झिकेर फेरी गुरुङको घरतर्फ जाग्छन् ।
गुरुङ घर पुगिसकेका हुँदैनन् । बीच बाटोमा रोकेर ‘अघि के भनिस्’ भन्दै परियारले गुरुङलाई खुर्पा प्रहार गर्छन् । खुर्पा प्रहारबाट गुरुङ भुइँमा लड्छन् । रिसको आवेगमा आएर परियारले गुरुङको घाँटी छिनाउँछन् । त्यसपछि उनी हत्या गरिएका गुरुङको शव घटनास्थलमा नै छाडेर टाउको झोलामा राखेर डेढ घण्टा पैदल हिँडेर प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न पुग्छन् ।
सामान्य विवादबाट भएको झगडाले हत्यासम्मको रुप लिएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी रवीन्द्र रेग्मी बताउँछन् । केही समयअघि पनि पारिवारिक विषयलाई लिएर उनीहरुको विवाद भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । परियारको बयानको आधारमा घटनास्थलको मुचुल्का तयार पारी गुरुङको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल धादिङ पठाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया