दिर्घ वहादुर शाही(डोक्काघरे)…हरेक दिन बिहान आयो,
अनि लगत्तै साँझ आयो।
त्यसैगरी वर्ष दिन बित्यो,
त्यही आगनमा फेरि एक तिहार आयो।
सयपत्री फूलहरू पनि आए,
मार्सी धान पनि झुल्यो।
रातो टिका र जमरा पनि
आँगन वरिपरि खेलिरहे।
कतै देखिन सखारै बास्ने,
चराचुरुङ्गी जस्तै नातिनातिना आएका।
ठूलो अम्बाको रुखमा एक जोडी
काग जहिले रैबार ल्याएर बस्थ्यो।
तर
शान्तिको सबग बोकेर
आउने परेवालाई बोलाएन।
परार साल आँगन उज्यालो गर्छु भनेर
मुग्लान छिरेको एक थान दियो
यो वर्ष पनि चाडबाडमा घर फर्केन।
खुसीका स–साना मुठाहरू
पोको पार्दै, एक डालो भरी गरेर
दुःखका सन्दूकसँग वर्षौंभरिका
कयौं भलाकुसारीसँगै बसेर बाँडौँ भन्दा
रातहरू उज्याला भैदिन्छन्।
त्यसपछि पठाउला रैबार,
कोही फर्कलान, नफर्कलान।
प्रिय बेइमान दुःखहरू,
अर्को वर्ष तिमी छिट्टै फर्किनु है।
म यसैगरी बाटो कुर्दै बस्नेछु
तिमी आउने जहिलेको
तिहारमा !!

दियो खबर । ७ आश्विन २०८२, मंगलवार १२:४०