कालिकोट । नेकपा (एकीकृत समाजवादी) कालिकोटले यस वर्षको संविधान दिवस अन्य दलसँग संयुक्त रूपमा होइन, अलग्गै कार्यक्रम गरी मनाएको छ।
सरकारी पक्षले संविधान दिवसको औपचारिक कार्यक्रम जनप्रतिनिधि, कर्मचारी र सुरक्षा निकायसम्म मात्र सीमित गरेपछि जिल्लामा कांग्रेस, एमाले, माओवादी र नेमकिपाले संयुक्त रूपमा दिवस मनाएका थिए। तर, एकीकृत समाजवादीले भने पार्टी कार्यालयमा आफ्नै कार्यक्रम आयोजना गरी अलग्गै दिवस मनाएको हो।
दिवसकै अवसरमा पार्टी कार्यालयमा नयाँ बोर्ड र झण्डा राखिएको थियो। सो अवसरमा सम्पन्न जिल्ला कमिटी बैठकले साविक कुमालगाउँ गाविसका पूर्व उपाध्यक्ष हर्क बुढालाई जिल्ला उपाध्यक्षमा मनोनयन गरेको छ।
जिल्ला कमिटी अध्यक्ष चित्रसिंह गाउँलेको अध्यक्षतामा, जिल्ला सह–इन्चार्ज विजया बिष्ट र प्रदेश कमिटी सदस्य लालबहादुर मल्लको विशेष उपस्थितिमा सम्पन्न बैठकले संविधानका उपलब्धिहरूलाई जोगाउँदै समाजवादी व्यवस्थाको पक्षमा आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको सचिव कृष्णकला पाण्डेले जानकारी दिनुभयो।
बैठकले असोज २५ गते बिजया दशमी, दीपावली र छठ पर्वलाई लक्षित गर्दै चियापान कार्यक्रमसहितको जिल्ला कमिटी बैठक आयोजना गर्ने निर्णयसमेत गरेको छ।

पार्टी नेताहरूका अनुसार वर्तमान राजनीतिक संकटका मुख्य जिम्मेवार दलहरूले सार्वजनिक रूपमा कालिकोटवासीसँग माफी नमाग्दासम्म कांग्रेस र एमालेसँग साझा मञ्च प्रयोग गर्न नहुने ठहर एकीकृत समाजवादीको रहेको छ। तर, भविष्यमा संविधान पक्षधर दलहरू एउटै मञ्चमा आउनु स्वाभाविक हुने उनीहरूको धारणा छ।

दियो खबर । ३ आश्विन २०८२, शुक्रबार १९:३१