सुर्खेत — कालिकोट जिल्लामा स्वास्थ्य क्षेत्रका लागि समर्पित कुशल स्वास्थ्यकर्मी शंकर प्रसाद वरालको हृदयघातका कारण निधन भएको छ। रास्कोट नगरपालिकामा कार्यरत वराल राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ कर्णाली प्रदेशका सक्रिय सदस्य समेत थिए।उनको असामयिक निधनले रास्कोट नगरपालिका मात्र नभई कालिकोट जिल्ला नै शोकमग्न बनेको छ। पेशागत दायित्व पूरा गर्नका साथै समाजसेवामा सक्रिय रहँदै आएका वराल समुदायमा लोकप्रिय थिए।
सरकारी सेवामा कलिलो उमेरमै प्रवेश गरेका शंकर प्रसाद वरालले स्वास्थ्य सेवा विस्तार र सामाजिक अभियानमा महत्वपूर्ण योगदान पुर्याएका थिए। उनी रास्कोट नगरपालिका–०९ का स्थायी बासिन्दा हुन्।
उनको निधनप्रति विभिन्न राजनीतिक दल निकटका स्वास्थ्यकर्मी, स्थानीय प्रतिनिधि र सरोकारवालाले श्रद्धाञ्जली अर्पण गर्दै गहिरो समवेदना व्यक्त गरेका छन्।

दियो खबर । ३१ भाद्र २०८२, मंगलवार १३:५७