✍️ नवीन कुमार पाण्डे
“आमा, म आन्दोलनमा हिँडे है।”
“किन छोरा? के को आन्दोलन?”
“तिमी लड्यौ, बा लडे–
देश बन्छ भनेर।
दाइले आट नै गरेन–
बन्दैछ भनेर।
तर आमा, अब म जानै पर्छ।
अब नामको होइन,
कामको परिवर्तन गर्नु छ।”
सानो बोतल पानी,
ब्यागमा भुटेको भात खाएर
निस्कन्छ ऊ।
हजारौँ भिडमा हुत्तिन्छ,
आफ्नो पुस्ताको आवाज सुनाउन।
भीडमा मिसिँदा
उसको आवाज अझ बुलन्द हुन्छ।
तर के थाहा–
रक्षाकवच नै भत्किन्छ भनेर!
एक्कासि छुन्छ गोलीले।
हातमा समाएको
ब्यानर पछारिन्छ भुइँमा।
साथीले हेर्न नपाउँदै
गर्ल्यामै ढल्छ ऊ।
“आमा, माफ गर…
सकिनँ म तिमीसँगको बचन बचाउन।
म न्याय माग्न गएको थिएँ,
तर बदलामा मृत्यु पाएँ।”
खै, कोले पुर्याउँछ होला
रगतले लतपतिएको जुत्ता घरमा?
तिहार आउँदै छ–
कसको गलामा बहिनीले
माला लगाउने हो?
माथिबाट हेर्दैछन्
मेरा सहयोद्धा साथीहरू।
छाड्छन् होला कि होइनन् आन्दोलन?
र त्यो पनि–
माथिबाट गोली चलाउने
के भन्छ होला घरमा?
आफ्ना छोराछोरीलाई
सुम्सुमाउँदै कसरी सुनाउँछ होला,
‘बीरताको कथा’ मिलाएर?

दियो खबर । २३ भाद्र २०८२, सोमबार २२:०८