सुर्खेत । ‘मानव अधिकार तथा सामाजिक न्याय’ अभियानसहित कर्णाली प्रदेशस्तरीय युवा मानवअधिकार रक्षकहरूको दुई दिने सम्मेलन बिहीबारदेखि सुर्खेतमा सुरु भएको छ। सम्मेलनको उद्घाटन कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले गर्नुभयो।
ग्रामीणमुखी युवा अभियान नेपाल (रोयम नेपाल) र युवा मानवअधिकार रक्षक सञ्जालको संयुक्त आयोजना, एइआईएनको सहयोग तथा राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशको समन्वयमा भएको कार्यक्रममा विभिन्न जिल्लाका मानवअधिकार रक्षकहरूको उल्लेखनीय सहभागिता रह्यो।
दियो खबर, विरेन्द्रनगर सुर्खेतका संवाददाताले बताए अनुसार, उद्घाटन सत्रमा मन्त्री भण्डारीले दिगो विकास लक्ष्य हासिल गर्न मानवअधिकार रक्षकहरूको भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै सरकार उनीहरूको सुरक्षा र सशक्तिकरणलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाउनुभयो। त्यस्तै, प्रदेश मामिला समिति सभापति कल्याणी खड्काले युवाहरूको सामूहिक आवाजले मात्र न्यायपूर्ण समाज सम्भव हुने बताउनुभयो।
कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सचेतक तथा पूर्व कानुन मन्त्री कृष्णबहादुर जी.सी., कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सुर्यनाथ योगि, प्रहरी वरिष्ठ उपरीक्षक केदार खनाल, राष्ट्रिय मानव अधिकार आयोग कर्णाली कार्यालय प्रमुख रमेश कुमार थापा, सरोकारवालाहरू र पत्रकारहरूको समेत सहभागिता रहेको थियो।

दियो खबर । २० भाद्र २०८२, शुक्रबार ०७:०५