मदराज शाही ।बुढ्यौलीले केश पाक्दै थियो, आँखामा बादल लागिसकेको थियो । गालामा मुजा पर्दै थियो । क्यान्सरले ग्रसित भईसकेकी थियौ, कमजोरीले राति सुत्दा खुट्टाको पिडुला फर्किएर मरौला जस्तो हुन्छ भन्थ्यौ । राती निन्द्रामा ऐठन भएर बर्बराउथ्यौ । दिनमा अनि राती ज्यान दुखेर चिलाएर एैया गर्दै हर फर्काउथ्यौ । भरपर्दो साहारा कोहि थिएन घरमा बाबा बाहेक ।
तिमीलाई बिहान बेलुका मिठो मसिनो खाना बनाएर खुवाउनु पर्ने अवस्थामा परिस्थितिले घर छोडि हिड्ने बनायो । बुढेसकालमा साहारा नहुँदा पनि तिमीले मन गाँठो पारी गहभरि आँसु राखेर मेरै मनोकांक्षा पुरा होस् भन्दै बिदा दिएको भर्खरै होकि जस्तो लाग्छ । अझै घरको पिडीमा म आउने दिन कुरेर बसेकी छौ कि जस्तो पनि लाग्छ तर बास्तवमा तिमी हामीबाट टाढा गईसकेकी छौ ।
रोजगारीका लागि अर्काको शहर उछिट्टिएका धेरै म जस्ताहरुको परिस्थिति यस्तै हुन्छ मनले जे चाहे पनि परिस्थितिले पुरा हुन दिदैन । यति सम्म कि मर्ने बेला सुनपानी छर्कन पाईदैन, आफ्नै प्रिय मान्छेको अन्तिम दर्शन पाउनबाट समेत बन्चित भईन्छ । तिमीले मेरो काखमा प्राण त्याग गर्न पाईनौ भनेर निकै चिन्तित छु म । मलाई भन्थ्यौ नि आमा तेरो अनुहार नदेखी मर्दिन भनी तर त्यो केबल भनाइमै सिमित बन्यो ।
अस्ति सम्म फोनबाट भएपनि आशिर्बाद लिएको याद छ तर अब त त्यो आशीर्वाद लिनबाट पनि बन्चित भईसकेको रहेछु बल्ल महशुस भएको छ । तिमीलाई सम्झे आज एकपटक फेरी तिमी हामीमाझ नभएको महसूस गरे मन दुख्यो एकपटक, सम्झे तिम्रा संघर्षका दिन, तिम्रो माया, अनि तिम्रो अभावमा आफ्नै सबैभन्दा ठुलो शभेच्छुक गुमाएको महशुस् गरेँ ।
धेरै प्यारा मान्छेहरु (हजुरबुवा, ठुलोबुवा, अंकल, भिनाजु, भाइ) ले हामीलाई छोड्दा हामी सबै रोयौं, धेरै रोयौं । रुनु भनेको मन अलि हलुका बनाउनु पनि रहेछ क्यारे । बिस्तारै सबै सहज भईसकेको थियो । तर जब तिमी यो संसार छोड्यौ भन्ने ख़बर यो राजधानीमा पाएँ मेरो संसारै लुटिए जस्तो लाग्यो । मैले केहि उछार पाईन, धेरै ठुलो पिडा मनमा बजारिदा त रुन पनि नसकिदो रहेछ क्यारे । आफै सबै बन्दोबस्त गरेर घरमा पुगेर जे जे गर्नु गरेर फिर्ता भएँ, काठमाण्डौ फर्केपछि बल्ल तिमी हामी देखि टाढा भएको महशुस गरेँ डाकै छोडेर रोएछु/रोइरहेछु अहिले । त्यसपछि पनि बेला-बेला सम्झेर मन अमिलो गराईरहन्छु तर तिम्रो मायाको पुर्ति हुन सक्दैन । तिम्रो अभाव अब कसैले पनि परिपुर्ति गर्न सक्ने छैन आमा । तिम्रा याद मात्र मनमा झन झन तिखारिएर आउँछन् ।
ठुलो परिवार, हाम्रो पालन पोषणका लागि सबेरै उठेर आफुभन्दा ठुलो गाग्रीमा पानी ल्याएर दैलो कुचो संगै शुरुवात गरेका दैनिकी,आँखा टर्राउने धुँवामा सबै परिवारलाई खाना पकाउने जिम्मा । कसौटीमा रहुन्जेल हामीहरुलाई थपि थपि ख्वाएर पुगे खाने नपुगे खाली भाँडो मात्र पुछपाछ पारेर खाँदा पनि अघाउने तिमीलाई सजिलै बिर्सन कहाँ मन मान्छ र । दिन भरीको मेला पात त्यहि माथि रातमा ढिकी जातो गरेर हाम्रो चारो जुटाउनु पर्ने त्यो दुखमा पनि हामीलाई माया दिने आमा तिम्रा संघर्षका दिन कम पिडादायी थिएनन् । असहजतामा पनि तिम्रो सहनशिलता महान थियो ।
हामी सन्तानको लागि तिमी कति कोमल मन की थियौ । बिभिन्न कारणले घरबाहिर हुँदा घरमा केही चोखो मिठो पाक्दा पनि छिमेकीसंग छोरो आएर घाटीमा बस्यो निलिदै निलिएन भनेर रोएको खबर सुनेको भर्खर जस्तो लाग्छ । संगै घरमा हुँदा चार पाउ मासु पाक्दा पनि छानी छानी फलमासु हाम्रा भागमा फालेर आफुले हड्डी चपाउँदा पनि खुसी भएको हिजै हो जस्तो लाग्छ । म काठमाण्डौ बस्दा स्याउको बोटमा फलेका स्याउका ठुल्ठुला दाना / ओखरका राम्रा सप्रेका दाना समेत कसैलाई खाना नदिएर मेरो नाममा जोगाएर राखेको सम्झना छ । आँगन अगाडि काँक्राको झालमा काँक्राले बतिलो लाउने बित्तिकै चोकेमा राखेर मेरै नाममा जोगाएर राखेको बिर्सनै सकेको छैन ।
तिमी हुँदा र नहुँदा कति फरक हुँदो रहेछ, अबको आउने बर्ष पनि स्याउले फल त फलाउने होला, काँक्राको झालले पनि अबस्य काँक्रो फलाउने होला तर चोकेमा राखेर जोगाईदिने तिमी नै त रहिछौ तिम्रो सन्तान प्रतिको माया पो रहेछ। आज ति याद झलझली घुमे आँखा वरिपरी । तिमी हामी सामु छैनौ भन्ने थाहा छ आमा तर मनले बिर्सन खोजेर पनि बिर्सन सकेको छैन ।
तिमीले हाम्रा खुसीका लागि के गरिनौ, कसैले मिश्री नरिवल चकलेट खान दिदा पनि पटुकामा घुसारेर ल्याएर खुवाएउ। बन पाखामा फलेका ऐसेलु, काफल पनि एक्लै निल्न सकिनौ पातमा बेरेर ल्याएर भए पनि चखायौ । तिमीले हामी राम्रो भएको खुसी भएको देखेर नै आफु खुसी भएको मान्यौ, महिनावारी हुँदा निस्केको रगतले टाटा बसेको थोत्रो लुंगी धोएर लगायौ, कुहिनामा च्यातिएको चोलोमा टालो हालेर पनि जिन्दगी निर्वाह गर्यौ । धुजा परेको पटुकीले लुंगी अडायौ,छिनेका चप्पलमा डोरीले अल्झाएर गुजारा गर्यो । तर मामा घरमा चाडबाडमा दिएको दक्षिणा समेत हाम्रा खुसीका ख़ातिर खर्च गर्यौ,आफ्ना खुसीलाई तिलान्जलि दिदै गरेको तिम्रो त्यो त्यागले लागेको ऋण चुक्ता गर्न सकिएन नै आजका दिनमा सम्झनु बाहेक ।
आमा तिम्रा सम्झना योग्य धेरै कुरा छन लेखी साध्य छैन नै, आज हामी देखि टाढा धेरै टाढा छौ। हाम्रो संसार नै फरक छ । जान अन्जानमा गरेका गल्तिको लागी माफी माग्न समेत सम्भव छैन । तर तिमीले हाम्रा लागि गरेको त्याग मानसपटलमा झनझन ताजा भएर बसेका छन् । तिम्रो शरीर मरेको हो। तिम्रो याद मरेको छैन । हृदयमा तिम्रो सम्मान छ । तिमी प्रतिको सम्मानमा कहिल्यै कमि हुने छैन ।
मनमा सधै जिवीत भएर बस्ने छौ । आमा तिमी मरेकी छैनौ। सधै जिवित भएर सम्मान पुर्वक रहने छौ यो मन भित्र । आजको दिनमा तिम्रो स्वर्गवास होस् यदि अर्को जन्म छ भने तिम्रै छोरो भएर जन्म लिन पाउँ भनेर अज्ञात भगवान संग हात जोड्नु सिवाए अरु के नै गर्न सकेर आमा । तिमीलाई थाहा छ आमा, त्यो घाटमा तिम्रो लास जलिरहँदा म एक भित्तामा बसि छट्पटाइरहेको थिए त्यो छट्पटी कसैले महशुस गर्न सकेनन । म पानी प्यास लागेर शिथिल भैसकेको थिएँ थाहा थियो तिमी मलाई पानी ल्याएर दिन सक्ने अबस्थामा थिएनौ तर पनि यो मनमा खै किन आशा जागेर आउँथ्यो तिमि म सङ्गै छौ जस्तो लाग्थ्यो । तिम्रो शरीर जलेर आकाशमा धुवाँ सरि बिलिन भयो । त्यो धुवाँमा बनेको तिम्रो आकृती मैले सहजै महशुस गरेको थिएँ आमा । तिमि खरानी बनेको सबै चिहान पखाली तिम्रो अस्तु बोकि फर्किदा सबै हतार भएझैं छिटो छिटो फर्किए घर । मैले तिमिले सानैमा भनेको कुरा बिर्सेको थिएन मलामी फर्किदा अन्तिममा आत्मा बनेर भएपनी मृतक आउँछन रे भनी । हो कतिले मलाई पुलिस भएर पनि हिड्न सकिनस भने बोक्ने प्रयास पनि गरे । तर उनिहरुलाई के थाहा आमा सबै घर पुगिसक्दा पनि म तिम्रो अस्तु बगेको नदि नजिकै फर्की फर्की पिडुला फर्किए हिड्न सक्दिन भनी बाहाना गरि बसेको बस त्यही आशामा थिएँ कि तिम्रो आत्मा भएपनी आउनेछ र मलाई एकपटक भएपनी छोरा भनी पुकार्नेछ । तर तिमी आइनौ आमा म कति कुरेँ घर पुगे पनि तिमिलाइ स्वर्गमा बास गराउनका लागि म सेतो कपडामा हुँदा पनि मध्यरातमा भएपनी कतै आउँछौ कि झै लागि एक्लै एक्लै त्यो अन्धकारमा तिम्रो मुहार खोज्दै पिढिमा आए तर तिमी आइनौ आमा । मन भक्कानिदा पनि चिच्याएर कराउन सकिन आमा । तिमिले छाडेर साच्चिकै गैसकिछौ आमा । बाबाको अनुहार मलिन बनेको दिदी बहिनी भाइ अनि म टुहुरो बनेको सहन सकिन आमा । मलाई बिश्वास नै लागिरहेको थिएन कि तिमी हामीलाई छाडी गैसक्यौ । कतै मेरै वरिपरि छौ जस्तो किन लाग्थ्यो आमा मलाई । जब यो राजधानीमा आइ तिम्रो आवाज सुन्न मेरो लालायित यी मष्तिस्कले तिमिले चलाउने गरेको मोबाइलको नम्बर थिच्यो नि बस बल्ल महशुस भयो तिमी त हामीलाई टुहुरो बनाइ ओझेल भैसकेकी रैछौ । आमा तिम्रो सम्झनामा कति दिन बिताउन सक्छु त्यो त मलाई थाहा छैन तर पनि तिम्रो भौतिक शरीर दुर भएपनी यो मनमा सधैं तिमी रहनेछौ । अर्को जन्ममा तिम्रै काखमा जन्म लिन पाउँ तिम्रो छोरो बनेर र मेरो सबै आयु तिमिलाइ लागोस अर्को जनममा ता कि म फेरि टुहुरो नबनुँ ।
उहीँ तिम्रो सपना पूरा गर्न नसकेको अभागी छोरो ।
मदराज शाही

दियो खबर । १३ पुष २०७७, सोमबार १४:५२