अपडेट

सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि रास्कोटको बाह्य शिविर

सुर्खेत। रास्कोट नगरपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि काठमाडौं, सुर्खेत र कैलालीमा बाह्य शिविर सञ्चालन गर्ने भएको छ। स्थायी घरठेगाना बाहिर बसोबास गर्ने नगरवासीलाई सेवाबाट वञ्चित हुन नदिन शिविर सञ्चालन गरिएको हो।

शिविर तालिका अनुसार काठमाडौंको हार्दिक होटल, बागबजारमा भदौ १७ देखि १९ गते, सुर्खेतको शुभ होटलमा भदौ १९ देखि २३ गते र कैलालीको लम्कीचुवा नगरपालिका, गणेशपुरमा भदौ २६ देखि २९ गतेसम्म सेवा उपलब्ध हुनेछ।

नगर प्रमुख धर्मराज शाहीले नगरवासीलाई सहज बनाउन बाहिरै पुगेर सेवा दिने व्यवस्था गरिएको बताए। “सामाजिक सुरक्षा भत्ता लिनुपर्ने कसैलाई पनि सेवाबाट वञ्चित हुन नदिन यो पहल गरिएको हो,” उनले भने।

यसका लागि नागरिकता, राष्ट्रिय परिचयपत्र, सामाजिक सुरक्षा परिचयपत्रसहित सम्बन्धित प्रमाणपत्र अनिवार्य हुने जनाइएको छ। थप जानकारीका लागि हुकुम बहादुर शाही (९८५८३२२१९५) वा तपेन्द्र बहादुर शाही (९८४८३२१९४६) लाई सम्पर्क गर्न सकिने छ।

तपाईको प्रतिक्रिया