सुर्खेत –कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकाले सामाजिक सुरक्षा भत्ता नविकरणका लागि सञ्चालन गर्ने बाह्य शिविरको आज (भदौ १२ गते) सुर्खेतको मंगलगढी चोकमा उद्घाटन भएको छ।
शिविरको उद्घाटन नगर प्रमुख कमल बहादुर शाहीले गरेका हुन्। उनले रोजगारी तथा अन्य कारणले स्थायी घरठेगाना बाहिर बसोबास गर्ने नगरवासीलाई सेवाबाट वञ्चित हुन नदिन सुर्खेत, कोहलपुर र कैलालीमा शिविर सञ्चालन गरिएको बताए।
“अब जनता मालिक हुन्, नेता भेट्न घर जानु पर्दैन, बरु नेता नै जनता भएको ठाउँमा पुग्ने हो। तपाईंहरूले साथ दिनुहोस्, हामी समाजवाद ल्याउने यात्रामा छौं। केही प्रतिगामी तत्वले हाम्रा कामलाई कुप्रचार गरे पनि नगर सरकार जनताको सुख–दुःखमा सधैं साथमा छ,” दियो खबरसँग कुरा गर्दै नगर प्रमुख शाहीले बताए।
नगर प्रमुख शाहीले शिविरमार्फत नगरपालिकाका सबै सेवाहरू जनसामु पुर्याउने योजना रहेको र विशेषगरी वृद्धवृद्धा, अपांग, विधवा तथा बालबालिकालाई लक्षित गरेर सेवा दिइने बताए। उनले सबै नगरवासीलाई आवश्यक कागजातसहित समयमा उपस्थित भई सेवा लिन आग्रह गरे।
यस अवसरमा वडा- ६ का वडाध्यक्ष दिनेश शाही,कर्मचारीको उपस्थित थिए।
शिविर तालिका सुर्खेत (मंगलगढी चोक) – भदौ १२ र १३ गते,कैलाली (कर्णाली चिसापानी) – भदौ १५ र १६ गते,बाँके (कोहलपुर चौराहा) – भदौ १७ गते
आवश्यक कागजात
१. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
२. राष्ट्रिय परिचयपत्रको प्रतिलिपि
३. सामाजिक सुरक्षा भत्ता परिचयपत्रको प्रतिलिपि
४. बालबालिकाको जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि तथा संरक्षकको परिचयपत्र
५. विधवाका लागि मृत्यु दर्ताको प्रतिलिपि
६. अपांगताको हकमा अपांगता परिचयपत्र र जन्मदर्ता प्रमाणपत्र
सम्पर्कका लागि कमल बहादुर शाही (MIS अपरेटर) – ९८६३४२६८६०,बल बहादुर शाही – ९८४८१३८०८०,भिम प्रसाद पाण्डे – ९८४८३०६६३३

दियो खबर । १२ भाद्र २०८२, बिहीबार १२:११