कालिकोट । खाँडाचक्र नगरपालिका–२, कालेखोला क्षेत्रमा सडक भासिँदा कर्णाली राजमार्गअन्तर्गत जुम्ला–कालिकोट खण्ड अवरुद्ध भएको छ । बुधवार बिहान करिब ७ बजे सडकको ठूलो भाग भासिनुका साथै भीरबाट खसेका चट्टानले बाटो पुरेकाले सवारीसाधन सञ्चालन ठप्प भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
प्रहरी प्रमुख टेक बहादुर रावलका अनुसार सडक खुलाउन एक्साभेटर प्रयोग गरेर अस्थायी पासको प्रयास भइरहेको छ । राजमार्ग बन्द भएपछि सार्वजनिक तथा निजी सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन् । यात्रुहरूलाई खाना–पानी जस्ता आवश्यकतामा कठिनाइ भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यद्यपि मर्मत सुरु भए पनि अझै केही समय लाग्ने अनुमान गरिएको छ । प्रशासनले सम्भावित जोखिमलाई ध्यानमा राख्दै यात्रुहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न र अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह गरेको छ ।

दियो खबर । ११ भाद्र २०८२, बुधबार ०९:५२