अपडेट

नेकपा समाजवादी कालिकोटले चौथो स्थापना दिवस मनायो

कालिकोट । नेकपा (एकीकृत समाजवादी) कालिकोटले सोमबार चौथो स्थापना दिवस विविध कार्यक्रमसहित मनाएको छ। पार्टी कार्यालय मान्ममा आयोजित विचार–अन्तरक्रिया कार्यक्रममा नेताहरुले पार्टीलाई बलियो बनाउँदै बामपन्थी एकताको बाटो खोल्ने अठोट व्यक्त गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथि तथा संविधानसभा सदस्य तुलाराज बिष्टले पुष्पलाल र मदन भण्डारीले देखाएको दूरदृष्टि आजको समयमा पनि उत्तिकै प्रासंगिक भएको बताए। उनले भने, “देशलाई सुशासन र समृद्धितर्फ अघि बढाउन समाजवादी पार्टीको नेतृत्व आवश्यक छ। कार्यकर्ताहरु गाउँगाउँमा गएर पार्टीको विचार पुर्‍याउन सक्नुपर्छ, तब मात्रै लक्ष्यमा पुग्न सकिन्छ।”

केन्द्रीय सदस्य एवम् जिल्ला सह–इन्चार्ज विजया बिष्टले कम्युनिस्ट शक्तिहरू एक ठाउँमा आएर सर्वहारा वर्गको हितमा काम गर्नुपर्ने आवश्यकता औँल्याइन्। “देशको समृद्धि, राष्ट्रियता र जनताको हितका लागि कम्युनिस्ट पार्टीबीच एकता अपरिहार्य छ,” उनले जोड दिइन्।

त्यस्तै, खाँडाचक्र नगरपालिकाका प्रमुख कमल बहादुर शाहीले समाजवादी पार्टीलाई तहसनहस पार्ने प्रयास असफल भएको उल्लेख गर्दै अब लोकप्रिय कार्यमार्फत जनताबीच जनलहर सिर्जना गर्ने समय आएको बताए। उनले भने, “पार्टीलाई बलियो बनाउने उपयुक्त समय आइसकेको छ। जनतामाझ लोकप्रिय काम गरेर हामी अझ मजबुत बन्न सक्छौं।”

कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष चित्रसिंह गाउँलेले गरेका थिए। उनले जिल्लाका ८२ वटै वडामा संगठन विस्तार गर्न नेता तथा कार्यकर्तालाई परिचालन गर्ने योजना प्रस्तुत गर्दै भने, “समाजवादीले अङ्गिकार गरेको सिद्धान्तकै आधारमा बामपन्थी एकताको बाटो खुल्न थालेको छ। विकट गाउँसम्म पनि पार्टीको पक्षमा लहर फैलिएको छ।”

त्यसैगरी, प्रदेश कमिटी सदस्य लालबहादुर मल्ल, उद्योग वाणिज्य संघ कालिकोटका अध्यक्ष रतनबहादुर शाही, वडा अध्यक्षहरु रंगलाल देवकोटा, बिरजित बिष्ट र नन्द मल्ल, अनेमसंघ (समाजवादी) जिल्ला अध्यक्ष पुष्पा सिंह शाहीलगायत वक्ताहरुले पार्टी संगठनलाई अझ सशक्त बनाउन सुझावसहितका धारणा राखेका थिए।

कार्यक्रम सञ्चालन पार्टी सचिव कृष्णकला पाण्डेले गरेकी थिइन्।

स्थापना दिवसकै अवसरमा जिल्लाका विभिन्न पालिका कमिटीहरूले असहायलाई सहयोग गर्ने, अग्रज नेताहरूलाई सम्मान गर्ने तथा विभिन्न सामाजिक कार्यक्रमसमेत सञ्चालन गरेको पार्टीले जनाएको छ।

तपाईको प्रतिक्रिया