अपडेट

महावैमा नेकपा(एस)पार्टीमा प्रवेश गर्नेको लहर

कालिकोट । महावै गाउँपालिका–५ मा आयोजित पार्टी कार्यालय उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस र एमालेसहित विभिन्न दल परित्याग गरी २३ जना नेताले नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन्।

नेपाली कांग्रेसका नेता जग्ग बहादुर शाही, पार्वती शाही, छन्ना विक र एमालेका सन्तविरे विक, जौला विक लगायतका नेताहरू पार्टी प्रवेश गरेका हुन्।

कार्यक्रम समाजवादी वडाकमिटी अध्यक्ष श्रीलाल उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि जिल्ला अध्यक्ष चित्रसिंह गाउँले, विशेष अतिथि प्रदेश निर्वाचन क्षेत्रीय अध्यक्ष कम्भ शाही, जिल्ला कमिटी सदस्य नरेन्द्र बहादुर शाही, अलि शाही र गाउँ कमिटी अध्यक्ष सृजन शाही ‘पुष्कर’ उपस्थित थिए। अग्रज नेताहरु देउले शाही, शिवा उपाध्याय र अम्मकला शाहीलाई विशेष सम्मान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चित्रसिंह गाउँलेले भने,

“आज नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्ने कमरेडहरूले महावै मात्र होइन, कर्णालीकै राजनीतिलाई नयाँ दिशा दिनेछन्। विगतका आठ वर्ष विकासका हिसाबले निराशाजनक सावित भए, आरसिसी बाटा बनाउनमै समय खर्च भयो। महावै गाउँपालिकामा अझै आधारभूत पूर्वाधार कमजोर छ। यदि सडक, शिक्षा, स्वास्थ्य र प्रशासनिक पूर्वाधार बलियो बनाउन सकियो भने महावै गाउँपालिकाको केन्द्रलाई इलाका प्रशासन कार्यालयका रूपमा विकास गर्न सकिन्छ। अबको जिम्मेवारी हामी सबैको सामूहिक हो—संगठन बलियो बनाउँदै जनतालाई वास्तविक विकासको अनुभूति दिलाउनु हाम्रो प्रमुख लक्ष्य हो,” उनले बताए।

समाजवादी प्रवेश गरेका कांग्रेस नेता जग्ग बहादुर शाहीले भने, “हामीले कांग्रेसमा रहेर लामो समय काम गर्‍यौं, तर जनताको हकहितको सवालमा प्रभावकारी परिणाम देख्न सकेनौं। समाजवादी पार्टीले हाम्रो आवाजलाई प्राथमिकता दिने भएकाले यहाँ प्रवेश गरेका हौं।”

एमाले छाडेर समाजवादी प्रवेश गरेका सन्तविरे विकले भने, “समाजवादी पार्टीले संगठन विस्तारसँगै विकास र जनताको हितमा गरेको कामले हामीलाई आकर्षित गर्‍यो। अब हामी कमरेडहरूसँग मिलेर गाउँमै परिवर्तन ल्याउने संकल्प गरेका छौं,” उनले भने।

तपाईको प्रतिक्रिया