अपडेट

पिली : जहाँ गणतन्त्रको बीउ रगतले रोपिएको थियो

-सम्पादकीय

२० वर्षअघि, आजकै दिन — २०६२ साल साउन २३ गते। कालिकोट जिल्ला, खाँडाचक्र नगरपालिका–७ मा पर्ने पिली गाउँको आकाश बारुदले ढाकिएको थियो। भीर, खोल्सा र जङ्गलहरू रगतले रंगिएका थिए। तत्कालीन माओवादी जनमुक्ति सेना र शाही नेपाली सेनाबीचको दोहोरो भिडन्त नेपाली इतिहासकै सबैभन्दा भीषण र पीडादायक युद्धको रूपमा दर्ता भयो।

त्यो युद्धमा १०३ जना लडेका सहिद भए। तीमध्ये धेरै जना किशोर, युवा, मजदुर, किसान र शिक्षित सपनाका वाहक थिए। उनीहरूले लडेको युद्ध व्यक्तिगत लागि होइन, उनीहरूले चालेको बन्दुक जनताको भविष्यका लागि थियो।

पिली केवल एउटा युद्धस्थल होइन, नेपाली लोकतन्त्रको बीउ रोपिएको पवित्र भूमि हो।

त्यो बीउ रगतले सिंचित भयो। आशाले अङ्कुरायो। र, आज संघीय लोकतान्त्रिक गणतन्त्र बनेर फलेको छ।

त्यो दिन धेरैका लागि जीवनको अन्त्य थियो, तर देशका लागि एउटा नयाँ युगको सुरुवात पनि। पिलीको त्यो बलिदान सधैँ सम्झनुपर्ने, सम्झाएर उत्तरदायी बनाउने घडी हो।

हामीमध्ये धेरैको त्यो बेला उमेर सानो थियो — भुइँमा पाइला टेकेर बन्दुक बोेकी युद्ध गर्न सक्ने हैसियत थिएन। तर आज हामीसँग चेतना छ, स्मृति छ, र जिम्मेवारी छ।

पिलीमा लडिएकै कारण आज हामी बोल्न पाउँछौं, लेख्न पाउँछौं, भोट दिन पाउँछौं, राज्यप्रति प्रश्न उठाउन सक्छौं।

तर प्रश्न यह‍ाँ उठ्छ — के हामीले त्यो रगतको मूल्य बुझ्यौं? के हामीले सहिदहरूको सपना जोगाएका छौं?

गणतन्त्र लिईयो, तर जनताको राज्य स्थापना अझै अधुरै छ। न्याय, समानता, समावेशी प्रतिनिधित्व, शान्ति र समृद्धि — यी सबै पिलीका सपना थिए। तर २० वर्षपछि पनि ती सपना अधुरा छन्।यो घडी केवल श्रद्धाञ्जली अर्पण गर्ने होइन, त्यो बलिदानको मूल्य बुझ्ने हो।

पिलीको भीर आज पनि बोलिरहेको छ —“मेरो माटोमा रगत बगाउनुभएका सहिदहरूलाई सम्झँ, र तिनीहरूको सपना जोगा।”

अबको पिली : बलिदानको भूमि हुँदै पर्यटकीय गन्तव्य समयसँगै पिलीको परिचय फेरिँदो छ। रगतले रंगिएको त्यो युद्धभूमि अहिले युद्ध पर्यटन क्षेत्रको रूपमा विकास हुँदैछ। यहाँ विभिन्न संरचना निर्माण भइरहेका छन् — सहिद पार्क, स्मारकहरू, सडक सञ्जाल, विश्राम स्थल र भ्यू टावर जस्ता पूर्वाधारहरू बन्न थालेका छन्।

अहिले पिलीमा आन्तरिक पर्यटकहरूको चहलपहल बढ्दो छ। विशेषगरी भ्यू टावरबाट वरिपरिको सुन्दर दृश्यावलोकन गर्न र इतिहासको साक्षी बनेको भूगोल महसुस गर्न धेरै युवायुवती र पर्यटकहरू यहाँ पुग्ने गरेका छन्।

पिली अब केवल सम्झनाको स्थल होइन, शिक्षा, प्रेरणा र पर्यटनको संगम बन्दै गएको छ। यो विकासले सहिदहरूको स्मृति जीवन्त राख्न मात्र होइन, स्थानीय जीवनस्तर सुधार गर्न पनि सहयोग पुर्‍याउँदैछ।

तपाईको प्रतिक्रिया