अपडेट

कर्णाली राजमार्ग फेरि अवरुद्ध

कालिकोट/ शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा शुक्रबार साँझ पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ।

शुक्रबार बेलुकी ६ बजे आएको पहिरोका कारण राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ। पहिरोका कारण सवारी आवागमन ठप्प बनेको छ र यात्रुहरूलाई आवतजावतमा कठिनाइ भएको छ।

कर्णाली राजमार्गको विभिन्न स्थानमा पहिरो जाँदा कालिकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा र बाजुरा हुँदै सुर्खेत आउजाउ गर्ने सवारी साधनहरू रोकिएका छन्। खाँडाचक्र नगरपालिका–९ का स्थानीय नयनबहादुर विष्टले दियो खबरसँग कुरा गर्दै यात्रुहरूलाई ठूलो सास्ती भएको बताए।

वर्षासँगै पहिरो खस्ने क्रम बढ्दै गएकाले यात्रुहरूलाई सतर्क रहन र वैकल्पिक मार्ग वा जानकारी लिएर मात्र यात्रा गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया