अपडेट

ताडीको लाखे जात्रामा सबैको साथ होस् : शाही

कालिकोट—खाँडाचक्र नगरपालिका–३, ताडीमा विगत केही वर्षदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको लाखे जात्रालाई अब वडा-४ को समेत सहकार्यमा अगाडि बढाउनुपर्ने आवाज उठ्न थालेको छ।

यसै सन्दर्भमा नेपाली कांग्रेसका युवा नेता लक्ष्मण कुमार शाहीले “जनताकै आवाज, जनताकै कथा – दियो खबर” कार्यक्रममार्फत जात्रालाई अझ समावेशी र साझा बनाउने आवश्यकताबारे विचार व्यक्त गरेका छन्।

कार्यक्रममा बोल्दै शाहीले भने, “हाम्रा अग्रजहरूले एउटै ठाउँमा भेला भएर लाखे जात्राको रमाइलो गर्ने परम्परा बसालेका थिए। अहिले त्यो परम्परा खाँडाचक्र नगरभित्रकै सांस्कृतिक पहिचान बनेको छ, त्यसलाई अझ सबल र साझा बनाउँदै अगाडि बढाउनु जरुरी छ।”

शाहीका अनुसार, ताडी क्षेत्रको भूगोल, संस्कृति र सामाजिक संरचना हेर्दा वडा-४ लाई पनि औपचारिक रूपमा जात्रामा समेट्नुपर्छ।

“वडा- ४ पनि ताडी क्षेत्रभित्रकै भूगोलमा पर्छ। हामी समग्रमा यसलाई ‘ताडी’ भनेर चिन्ने र व्यवहारमा ल्याउने गर्छौं,” उनले भने, “त्यसैले लाखे जात्रामा वडा ४ को सहभागिता सुनिश्चित गर्नु न्यायोचित र समयानुकूल हुनेछ।”

उनले जात्राको संयोजन समितिलाई आग्रह गर्दै थपे, “समयको माग अनुसार अब जात्रामा सबैको अपनत्व हुने वातावरण बनाउनु पर्छ। यसले जात्राको सांस्कृतिक महत्त्व झनै बढ्नेछ र सामाजिक एकता अझ बलियो हुनेछ।”

खाँडाचक्र नगरपालिकामा पर्ने ताडी क्षेत्रमा हरेक वर्ष कृष्ण जन्माष्टमीको अवसरमा लाखे जात्रा भव्य रूपमा मनाउने परम्परा छ। स्थानीय युवा, वृद्ध, महिला र बालबालिकासमेत सहभागी हुने यो जात्रालाई अझ समावेशी र नगरस्तरीय बनाउने पहलको रूपमा शाहीको विचार प्रस्तुत भएको हो।

तपाईको प्रतिक्रिया