अपडेट

अधिवेशन अन्त्य सिफारिस, ढकाल सरुवा,पत्रकारिता विधि पारित

सुर्खेत । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले एकपछि अर्को महत्वपूर्ण निर्णय गर्दै प्रदेश प्रशासन र सञ्चार क्षेत्र सुदृढ बनाउने निर्णयहरू गरेको छ ।

प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहका अनुसार बैठकले कर्णाली प्रदेश सभाको छैठौँ अधिवेशन यही राति १२ बजेदेखि अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यस्तै, प्रदेश सचिव ढोलकराज ढकाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सामाजिक विकास मन्त्रालयमा काजमा खटाउने निर्णय गरिएको छ ।

प्रदेश सरकारले पत्रकारिता क्षेत्र सशक्तीकरण गर्ने उद्देश्यले ‘पत्रकारिता पुरस्कार वितरण कार्यविधि, २०८२’ स्वीकृत गरेको छ ।

साथै, सूचनाको हक कार्यान्वयनको प्रभावकारिता मूल्यांकन गर्न शासकीय सुधार महाशाखाका सचिवको संयोजकत्वमा ‘सूचनाको हक अनुगमन समिति’ गठन गरिएको छ, जसले विभिन्न कार्यालयहरूमा उक्त अधिकारको कार्यान्वयन स्थिति अनुगमन गर्नेछ ।

यसैगरी, सर्वोच्च अदालतको परमादेशअनुसार जाजरकोटको जुनिचाँदे गाउँपालिकाको प्रशासनिक केन्द्र वडा नं. ४ लुहादहमा तोक्न नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय समेत बैठकले गरेको छ ।

तपाईको प्रतिक्रिया