सुर्खेत। नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले दक्षिण कोरियाको औपचारिक भ्रमणका क्रममा कोरियाली संसद भवनमा डेमोक्रेटिक पार्टीका सांसद माननीय ली योंग सुनसँग विशेष भेटवार्ता सम्पन्न गरेका छन्।
शाही र सांसद लीबीचको भेटवार्तामा नेपाल–कोरिया सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा गहन छलफल भएको थियो। भेटमा दुई देशबीचको ऐतिहासिक मित्रता, कोरियाको आधुनिक प्रविधि र विकास अनुभवबाट नेपालले लाभ उठाउने सम्भावना, जनस्तरसम्मको सम्बन्ध विस्तार, पर्यटन प्रवर्द्धन तथा पूर्वाधार विकासमा कोरियाली सहयोगका सम्भावनाहरूमा विचार–विमर्श गरिएको थियो।
शाहीले विशेष रूपमा काठमाडौंस्थित कोरियाली दूतावासमा भिसा प्रक्रियामा देखिएको जटिलता, ढिलाइ र त्यसले नेपाली नागरिकलाई पारेको कठिनाइबारे गम्भीर ध्यानाकर्षण गराएका थिए। उनले नेपाली विद्यार्थी र श्रमिकहरूलाई सजिलो पहुँचसहितको प्रक्रिया आवश्यक भएको औंल्याउँदै तत्काल सुधारका लागि आग्रह गरेका थिए।
सांसद ली योंग सुनले उक्त विषयलाई अत्यन्त संवेदनशील रूपमा लिँदै भिसा समस्याको समाधानका लागि शीघ्र पहल गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्। उनले कोरियामा रहेका नेपाली श्रमिक र विद्यार्थीहरू कोरियाली समाजको मूल्यवान अङ्ग भएको उल्लेख गर्दै उनीहरूको हितका लागि सहकार्य गर्न तयार रहेको बताए।
भेटपछिको संक्षिप्त प्रतिक्रिया दिँदै ‘दियो खबर’सँग कुरा गर्दै नेता शाहीले भने:“नेपाल र कोरियाको सम्बन्ध केवल सरकारस्तरसम्म सीमित नरहोस्, जनस्तरसम्म सशक्त रूपमा फैलियोस् भन्ने चाहना राखेको छु। खासगरी नेपाली नागरिकले भोग्नुपरेका भिसा प्रक्रियाका कठिनाइहरू प्रत्यक्ष राखें। सांसदज्यूले गम्भीर चासो देखाउँदै समाधानका लागि पहल गर्ने बताउनुभयो।”
शाहीलेथपे“कोरियाको प्राविधिक ज्ञान र विकासका अनुभवलाई नेपालमा उपयोग गर्न सकिन्छ। यो भ्रमणले भविष्यका सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास लिएको छु।”
शाही हाल दक्षिण कोरियाको भ्रमणमा छन्। यसअघि उनले जापान भ्रमण गर्दै त्यहाँ रहेका नेपाली समुदायसँग प्रत्यक्ष संवाद र अन्तरक्रिया गरेका थिए। कोरियामा पनि उनी नेपाली विद्यार्थी, श्रमिक तथा विभिन्न समुदायका प्रतिनिधिहरूसँग निरन्तर समन्वयमा सक्रिय छन्।
उनको यो भ्रमणलाई युवानेता शाहीद्वारा गरिएको एक महत्वपूर्ण कूटनीतिक पहलका रूपमा हेरिएको छ, जसले भविष्यमा नेपाल–कोरिया सम्बन्धलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

दियो खबर । २० श्रावण २०८२, मंगलवार १७:३९