अपडेट

चाडपर्व शान्तिपूर्ण बनाउन कालिकोट प्रशासनको अनुरोध

कालिकोट— जिल्ला प्रशासन कार्यालय कालिकोटले आउँदो प्रमुख चाडपर्वहरू — शक्तिपीठहरूमा गरिने पूजापाठ, बडिमालिका, महाँदै, चुलीमादीका, पुवामाईला लगायतका धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूलाई सुमधुर र सुरक्षित रूपमा मनाउन आग्रह गरेको छ।

प्रशासनले सम्पूर्ण जिल्लावासीलाई आपसी सद्भाव, सहिष्णुता र शान्तिपूर्ण ढंगले पर्वहरू मनाउन अनुरोध गरेको छ। पर्वका अवसरमा मेला, भेटघाट, रमझम लगायतका गतिविधिहरू शान्तिपूर्वक सम्पन्न गर्न तथा सामाजिक मर्यादा कायम राख्न विशेष आग्रह गरिएको छ।

सूचनामा भनिएको छ, “धार्मिक आस्थाका नाममा हुने जथाभावी गतिविधि, होहल्ला, उत्तेजनात्मक क्रियाकलाप, मदिरा सेवन तथा लाठी, हतियार प्रदर्शनबाट टाढा रहनुहुन सबैमा अनुरोध छ।” शान्ति सुरक्षामा खलल पुग्ने कुनै पनि गतिविधिलाई कानुनी कारबाही हुने जानकारी प्रशासनले दिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्मा हस्ताक्षरित सूचनामा चाडपर्वको समयमा कानुन विपरीत कार्य नगर्न र समुदायमा सद्भाव कायम राख्न सबैलाई सचेत गराइएको छ।

तपाईको प्रतिक्रिया