अपडेट

दुर्गा प्रसाईं २८ लाख धरौटीमा रिहा

सुर्खेत।मेडिकल व्यवसायी दुर्गा प्रसाईं २८ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । सोमबार उच्च अदालत पाटनको आदेशअनुसार उनले दुईवटा फरक मुद्दामा धरौटी बुझाएर रिहा पाएका हुन् ।

उच्च अदालत पाटनले तीनकुने घटनामा संलग्न भएको आरोपमा दायर मुद्दामा ३ लाख र बैंकिङ कसुरसम्बन्धी मुद्दामा २५ लाख रुपैयाँ धरौटी माग गरेको थियो । ती आदेशअनुसार उनले अदालतमा कुल २८ लाख धरौटी बुझाएका छन् ।

तीनकुने घटनासम्बन्धी मुद्दामा न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । यस्तै, बैंकिङ कसुरको मुद्दामा न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले २५ लाख धरौटी माग गर्दै रिहा आदेश दिएको हो ।

दुर्गा प्रसाईंलाई गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादी प्रदर्शनमा सहभागी भइ अशान्ति फैलाएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । साथै, बैंकिङ क्षेत्रसँग सम्बन्धित कानुनी विषयमा समेत उनीविरुद्ध अनुसन्धान अघि बढाइएको थियो ।

रिहा भएपछि उनलाई लिन नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मा डिल्लीबजार कारागार पुगेका थिए ।

तपाईको प्रतिक्रिया