अपडेट

बडिमालिकामा रास्कोटको बिदाई

कालिकोट।रास्कोट नगरपालिकाले इतिहासमै पहिलोपटक बडिमालिका जान लागेका तिर्थयात्रीहरूलाई औपचारिक कार्यक्रमका साथ बिदाई गरेको छ। नगरस्तरीय शुभारम्भ समारोहसहित आयोजित उक्त कार्यक्रममा नगर प्रमुख धर्मराज शाही, उपप्रमुख मनिराज वराल, जनप्रतिनिधि, कर्मचारी र स्थानीय भक्तजनहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।

यसअघि बडिमालिका जाने यात्रुहरू आ–आफ्नो पारामा यात्रा सुरु गर्ने गर्थे भने, यसपटक नगरपालिकाले समन्वय गर्दै बडिमालिकातर्फ जाने यात्रालाई संस्थागत रूपमा सुरु गरेको हो।

नगर प्रमुख शाहीले तिर्थयात्रालाई आध्यात्मिक उन्नति मात्र नभई सामाजिक एकता र सांस्कृतिक संरक्षणको माध्यमको रूपमा वर्णन गर्दै भने, “हामीले धार्मिक यात्रालाई सामूहिक संस्कारको रूपमा अगाडि बढाउने ऐतिहासिक सुरुवात गरेका छौं।”

त्यस्तै, उपप्रमुख वरालले यात्रामा सहभागी सबैलाई सफल यात्रा र सुरक्षा कामना गर्दै भविष्यमा अझ व्यवस्थित योजना ल्याउने प्रतिबद्धता जनाए।

शुभारम्भ कार्यक्रममा पूजा, मन्त्रोच्चारण, भजन तथा धार्मिक संगीतमार्फत वातावरण भक्तिमय बनाइएको थियो। बडिमालिकाको यो धार्मिक यात्रा रास्कोट नगरका लागि पहिलोपटक सामूहिक तहबाट सुरु गरिएको तिर्थयात्रा भएकाले यसलाई ऐतिहासिक रूपमा लिइएको छ।

बडिमालिका माताको दर्शनका लागि प्रस्थान गरेका यात्रुहरू केही दिनपछि फर्कने कार्यक्रम रहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया