कालिकोट — दशकौँअगाडिको जनयुद्धको अन्तिम रणभूमि पिली अहिले नयाँ पहिचान बनाउँदै छ। एक समय युद्ध, विस्थापन र रगतपच्छ्यौरीले चिनिएको यो ठाउँमा शुक्रबार नेकपा (एकीकृत समाजवादी) का नेता तथा कार्यकर्ताहरू भेला भई भ्यू टावरमा पार्टीको झण्डा फहराउँदै पर्यटन विकासको सन्देशसहित अघि बढेका छन्।
पार्टीका अगुवा कार्यकर्ताहरूले जनयुद्धका पीडादायी क्षण सम्झिँदै अबको पिली शान्ति, सम्भावना र समृद्धिको प्रतीक बन्ने विश्वास व्यक्त गरे। उनीहरूले रेलिङ हुँदै भ्यू टावर पुगेपछि युद्धले थिलथिलो बनाएको पिलीमा अहिलेको हरियाली र पूर्वाधार विकास देखेर आशा पलाएको बताए।
नेकपा (एस) कालिकोटका अध्यक्ष चित्रसिंह गाउँलेले पिलीको पर्यटन सम्भावनालाई उजागर गर्दै राज्यको लगानी अझै आवश्यक रहेको बताए। उनका अनुसार पार्टीको पहलमा हाल पिलीदेखि हलाने जोड्ने झोलुङ्गे पुलका लागि सहरी विकास मन्त्रालयमार्फत ८५ लाख रुपैयाँको बजेट व्यवस्था भइसकेको छ।
प्रदेश अध्यक्ष ठगेन्द्र प्रकाश पुरीले पिलीमा भेला गर्नु पार्टीको लागि मात्र होइन, राष्ट्रिय इतिहास र पर्यटन प्रवर्द्धन दुवै दृष्टिले महत्त्वपूर्ण भएको बताए। केन्द्रीय सदस्य बिजया बिष्टले कठिन बाटो पार गरेर पुगेको भ्यू टावरको हरियाली र शान्त वातावरणले थकान मेटाएको अनुभव सुनाइन्।
प्रदेश सचिव धिर बहादुर बिष्टले अब पिलीमा पिकनिक स्थल, चौतारो, विश्रामस्थल र अन्य पूर्वाधार आवश्यक रहेको भन्दै यस्ता संरचनाले पिलीलाई रारा क्षेत्र अन्तर्गतको आकर्षक गन्तव्य बनाउन सकिने बताए।
हाल पिलीको भ्यू टावर दैनिकजसो युवा, विद्यार्थी र पर्यटकहरूको गन्तव्य बनेको छ। तर अझ बढी प्रचार–प्रसार, लगानी र पूर्वाधार विकास गरिएमा यो क्षेत्र कालिकोटकै प्रमुख पर्यटकीय केन्द्र बन्नेमा सबै एकमत देखिए।

दियो खबर । १७ श्रावण २०८२, शनिबार १२:११