कालिकोट—नेकपा (एकीकृत समाजवादी) कालिकोट क्षेत्र नं. १ (क) प्रदेश कमिटीद्वारा आयोजित अगुवा कार्यकर्ता भेला शनिबार कालिकोटको युद्व पर्यटकीय क्षेत्र पिलीमा सम्पन्न भएको छ।
भेलाको प्रमुख अतिथि कर्णाली प्रदेश अध्यक्ष ठगेन्द्र प्रकाश पुरी थिए। उनले पार्टी संगठनलाई सुदृढ गर्दै जनताको समस्या समाधानतर्फ उन्मुख हुनुपर्नेमा जोड दिए। “हामी समाजवादको दिशामा अघि बढिरहेका छौँ, अब जनताको घरदैलोमै पुगेर काम गर्नुपर्ने बेला आएको छ,” पुरीले भने।
केन्द्रीय सदस्य तथा जिल्ला सह-इन्चार्ज विजया विष्टले पार्टीलाई जनमुखी बनाउँदै महिलासहित युवाको सक्रिय सहभागिता आवश्यक रहेको बताइन्। प्रदेश सचिव धिर बहादुर विष्टले आन्दोलनको इतिहास बोकेको पार्टीको साख जोगाउन कार्यकर्ताले जिम्मेवारीपूर्वक अघि बढ्नुपर्नेमा जोड दिए।
जिल्ला अध्यक्ष चित्र सिंह गाउलेले संगठन सुदृढीकरणसँगै पिली जस्ता ऐतिहासिक र पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु पनि पार्टीको जिम्मेवारी रहेको बताए। उनका अनुसार यो भेला संगठन विस्तारका साथै पिलीको प्रचारप्रसारका लागि आयोजना गरिएको हो।
कार्यक्रममा बोल्दै अध्यक्ष गाउलेले नेकपा एस जनताको समस्यासँग प्रत्यक्ष जोडिने पार्टी भएको दाबी गरे। उनले भने, “रास्कोट नगरपालिकामा जिल्ला अधिवेशन गर्ने पहिलो पार्टी हामी हौँ। अबका कार्यक्रम पर्यटकीय क्षेत्रमै आयोजना गरी ती ठाउँको पहिचान उजागर गरिनेछ।”
भेला प्रदेश निर्वाचन क्षेत्र (क) अध्यक्ष कम्म बहादुर शाहीको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा उपाध्यक्ष चन्द्र बहादुर शाही, जिल्ला सचिव कृष्णकला पाण्डे, सह-सचिव, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, नगर र गाउँ कमिटीका अगुवा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति थियो।
भेलामा संगठन सुदृढीकरण, सदस्यता अभियान, आगामी रणनीति र स्थानीय जनताको घरदैलोमा पुग्ने कार्यक्रमलाई प्राथमिकता दिइने निर्णय गरिएको छ।




दियो खबर । १६ श्रावण २०८२, शुक्रबार २२:३३