कालिकोट/शुभकालिका गाउॅंपालीका–६ हाउडीमा एक घरमा बिहीबार राति आगलागी हुँदा करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
राति १२ बजे विद्युत् सर्ट भई कपडामा लागेको आगो काठ हुँदै घरमा फैलिएको हो। चार परिवार बस्ने ९ कोठे घर पूर्णरूपमा जलेको कालीकोट प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिए।
रमेश शाही, खडकबहादुर शाही, वीरेन्द्र शाही र नरेन्द्र शाहीको साझा घरमा आगो लाग्दा धनमाल जलेको हो। मानवीय क्षति भने भएको छैन।
घरमा रहेका १५ जनामध्ये अधिकांश गोठ गएका थिए भने अन्य सुरक्षित रुपमा निस्कन सफल भएका थिए।
पीडितका अनुसार नगद, सुन, चाँदी, अन्न, लत्ता कपडा, भाँडावर्तनलगायत गरी करिब ३० लाखको क्षति भएको छ।
प्रहरी राति नै पुगे पनि बिहान मात्र आगो नियन्त्रणमा आएको थियो। अहिले पीडित परिवारलाई वडाध्यक्ष दीपबहादुर शाहीको घरमा राखिएको छ।

दियो खबर । १६ श्रावण २०८२, शुक्रबार १५:०४