— दीर्घबहादुर शाही ‘डोक्काघरे’
बूढो आरन भएको छु,
कहाँ पुगेर थकाइ मेट्लान् होला यी पसिनाहरू?
जिन्दगी बोकेर हिँडेको यो यात्रा,
प्रत्येक दिन भरियाजस्तै काँधमा चढ्छ,
सफरजस्तै दौडिन्छ,
खोलाजस्तै बग्छ,
र छताछुल्ल पोखिन्छ –
जहाँ विश्रामको चौतारो पनि छैन।
भाग्य बनाउन दौडिरहेका
वृद्ध आँखाका जोडीहरू
क्षितिजपारिको घाम फल्ने
अग्लो भुइँ छुन खोज्छन्।
बुढेसकालका तानाहरू बुन्दै
इन्द्रेणीका रङ्गीन तुइन चढेर
सुखका झुप्पा टिप्न पुग्छन् –
कयौँ बोरा खुसी फलाउने सपना बोकेर।
माटोसँग मितेरी गाँस्दागाँस्दै,
आफै माटोजस्ता बनेका छन्।
जुनकिरीको उज्यालो समाउन
डोको, नाम्लो र बरियो समाइ
सधैं बिहानै दोडिन्छन् –
उज्यालो खोज्दै,
मध्यरातमै उठेकी एक गृहिणी,
घाम डुबेपछि
अन्धकार बोक्दै मात्र फर्किन्छिन् आँगनमा।
जुनकिरीको फेरो अझै आएको छैन,
पुर्णिमाको जून झरेको छैन।
इन्द्रेणीका रङ्गीन लहरामा
सुखका झुप्पा पनि नफलेका छन्।
तुइनबाट खसेको एक बोरा खुसी,
अझै घर नपुगी हरायो।
एक फाँको अन्न फलाउँदा फलाउँदै
खुइलिएको दुब्लो जिन्दगी बिसाउने
चौतारो पनि कतै छैन।
हत्केलामा उम्रेका अग्ला ढिस्काहरू खनिन,
धारिलो कोदालो बनाउन खोज्दा खोज्दै,
धार तीखो पार्न सकिएन।
र आजभोलि
म आफै
बूढो आरन भएको छु…!!

दियो खबर । १६ श्रावण २०८२, शुक्रबार १०:१०